adv

१६ औं आत्मानन्द कपको उपाधि तिजोक पाँचथरलाई

सजन राई । इलाम,माङसेबुङ । इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण आत्मानन्द कपको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ । प्रतियोगिता किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा प्रस्तावित आत्मानन्द खेल मैदानमा मंसिर ८ देखी सुरु भएको थियो ।

आत्मा-पवित्र हक्चात यक्चुमको आयोजनामा मंसिर १७ गते भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिकालाई सदन डेथमा हराउदै तिजोक च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५-५ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

टाइब्रेकरमा तिजोकका रोशन आङदेम्बे, बिजय राई, जमिन लिम्बू, निर्देश राई र योगेन कार्कीको प्रहार गोलमा परिणत भएको थियो भने माङसेबुङका किस्मत लिम्बू, निर्मल राई, च्याङबा तामाङ, तारा लिम्बू र रबिन मगरले गोल गरेका थिए ।

ट्राइब्रेकरमा बराबरी सँगै सडन डेथमा तिजोकका मनिस भण्डारी र रोशन नेपाल गोल गर्न सफल भए भने माङसेबुङका सन्तोष न्यौपाने गोल गर्दा ओसन राईको प्रहार तिजोकका गोलिकिपर रोशन नेपालले बचाएका थिए ।

प्रतियोगिताको उत्कृष्ट डिफेण्डर तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर तिजोक कै रोशन नेपाल, सर्वाधिक गोलकर्ता तिजोकको निर्देश राई घोषित भए । त्यस्तै उत्कृष्ट खेलाडी माङसेबुङका रबिन मगर र उदयीमान खेलाडी माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुले नगद रु ५ हजार सहित मेडल र प्रमाणपत्र पाए ।

खेलाडिहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बू, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङले पुरस्कार वितरण गरेका थिए ।

तिजोकले दार्जिलिङलाई ३–० गोल अन्तरले जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो भने सिरिजंगा स्पोर्टिङ क्लब मोरङलाई २-१ गोलले पराजित गर्दै माङसेबुङ फाइनलमा पुगेको थियो ।

विजेता तिजोकले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता बनेको माङसेबुङले नगद २ लाख ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।

प्रतियोगितामा नेपाल, भारत र भुटान गरी जम्मा ८ टिमको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु