२० मंसिर, दमक ।

जातीय भेदभाव र छुवाछुतका कारण क्रुरतापूर्वक हत्या गरिएका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विकसहित ६ जनाको हत्या अभियोगमा २३ जनालाई दोषी ठहर गर्दै जन्मकैद साजय तोकिएको छ ।
जिल्ला अदालत रुकुम पश्चिमले २०७७ जेठ १० गतेका दिन चौरजहारी नगरपालिका–८ सोतीगाँउमा भएको उक्त हत्याकाण्डका आरोपीलाई मंगलबार जन्मकैदको सजाय तोकेको हो ।
जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खडकबहादुर केसीको इजलासले घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको ठहर गर्दै सजाय सुनाएको हो ।
जन्मकैद सजाय भएकामा तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिकाका बाबु, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्ली मल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर छन् ।
जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार जनमकैद सजाय तोकिएका अन्यमा विनोद म्लल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगर छन् ।
नवराज विककी प्रेमिका, उनकी आमा र भाइले भने ज्यान मारेको आरोपबाट सफाइ पाएका तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको सूचना अधिकारी कोइरालाले जानकारी दिए ।
अदालतले घटनाका पीडितका परिवारलाई जनही ४० हजार रूपैयाँका दरले क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ ।
घटनामा संलग्न भएको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनले भने सबै मुद्दामा सफाइ पाएका हुन् ।
करिब साढे तीन वर्ष अघि जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।
घटनामा जाजरकोटका विकसहित गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही, रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

