
इलाम । इलामको रोङ गाउँपालिका–६, जिर्मलेमा प्रथम जिर्मले फुटबल लिग सञ्चालन गरिने भएको छ ।
यही मंसिर २९ देखि दुई महिनासम्म साताको शुक्रबार र शनिबार खेल सञ्चालन गर्न लागिएको हो ।
वडामै फुटबलका गुणस्तरीय खेलाडी उत्पादनका लागि वडा खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालय र खेल सञ्चालन समितिको संयुक्त सहयोगमा लिग सञ्चालन गर्न लागिएको हो ।
स्थानीयस्तरका खेलकुदमा त्यही क्षेत्रका खेलाडीमात्र समावेश गरी उनीहरूलाई प्रशिक्षित गर्नु लिगको उद्देश्य रहेको वडाध्यक्ष सत्यम राईले बताए । ‘फुटबल प्रतियोगिताहरू त दर्जनौं आयोजना भइरहन्छन् तर स्थानीय खेलाडी उत्पादनमा त्यस्ता प्रतियोगिता उपलब्धिमूलक भएको देखिँदैन,’ उनले भने, ‘यहाँ आयोजना गरिएको लिगमा चाहिँ यहींका खेलाडीलाई मात्र सिकाइको अवसर दिइनेछ ।’
स्थानीय सामुदायिक विद्यालयका चार खेलमैदानमा लिग आयोजना गरिनेछ । लिगमा साविकका नौ वटै वडाका नौ टिम सहभागी रहनेछन् । तर, रोङ वडा ६ बाहेकका खेलाडीलाई सहभागी नगराइने उनले जनाए । ‘यो खेल फुटबल खेलाउनका लागि मात्र आयोजना गरिएको होइन,’ उनले भने, ‘स्थानीयस्तरमै राम्रा खेलाडी उत्पादन गर्नलाई हो ।’ अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमानुसार खेल सञ्चालन गरिने उनले बताए ।
प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ । उपविजेतलाई पनि ४० हजार नगद पुरस्कार दिइनेछ । अन्य उत्कृष्ट खेलाडीसमेतलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नौ वटै टिमलाई एक–एक सेट जर्सी र खेलको दिनको केही ‘फेयर’ रकम पनि दिइने वडाध्यक्ष राईले बताए ।
लिग सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । वडाले डेढ लाख रुपैयाँ खर्च गर्नेछ भने बाँकी रकम विभिन्न दाताबाटै संकलन गर्ने वडाले जनाएको छ । जिल्ला फुटबल संघले खेलका लागि प्राविधिक सहयोग गर्नेछ ।

