adv

जनमुक्तिसहित साना दल एक हुने

२० मंसिर, दमक ।


राष्ट्रिय जनमुक्ति पार्टीसहितका पहिचान पक्षधर दलहरुबीच पार्टी एकता प्रक्रिया टुङ्गिने भएको छ ।

मंगलबार भएको ती पार्टीहरुबीचको छलफलले पार्टी एकतालाई निचोडमा पुर्याएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले जानकारी दिए ।

मंगलबार पार्टीको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सम्पन्न जनमुक्तिसहित संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा)का शीर्ष नेताहरुबीचको छलफलले पार्टी एकता निचोडमा पुर्याउने तय गरेको हो ।

अध्यक्ष पालुङ्वाले भने –‘हामीले पार्टी एकता प्रक्रियालाई निचोडमा पुर्याउने गरी छलफल सक्यौं । अब विधि र प्रक्रियागत कार्यहरु पूरा गर्नका निम्ति आउँदो २०८० पुष २३, २४ र २५ गते चितवानमा विधान सभा गर्ने निर्णय भएको छ ।’

विधान अधिवेशनपछिको एकीकृत पार्टीको नाम नेपाल जनमुक्ति पार्टी हुने, चुनाव चिन्ह साबिक जनमुक्ति पार्टीकै घर हुने र पार्टीको झण्डा ३ः२ अनुपात लम्बाई–चौडाई भएको आकाशे निलो रङको बीचमा कोणहरु भएको रातो सूर्य रहने सहमति पत्रमा उल्लेख छ ।

यी पार्टीहरुबीच गत वर्षको फागुन २७ गते पार्टी एकताको निम्ति आधारभूत सहमति भएको थियो । जसमा सबै पार्टीका शीर्ष नेताहरुको उच्चस्तरीय संयन्त्र निर्माण गरी संयोजकमा जनमुक्तिका अध्यक्ष पालुङ्वा रहने गरी सहमति गरिएको थियो ।

तर, सहमति भएको केही महिनापछि किरात लिम्बुवान अभियानका संयोजक प्रेमदीप थाम्सुहाङलाई उच्चस्तरीय संयन्त्रले हिन्दु राज्य र राजतन्त्र माग गर्दै अभियान सञ्चालन गर्ने दुर्गा प्रसाईंसँग सहकार्य गरेको भन्दै कारबाही गरेको थियो । त्यसैगरी, पार्टी एकताका लागि तयार भएको अर्को घटक कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी केही समय अगाडि मात्रै संयन्त्रबाट बाहिरिएर नागरिक उन्मुक्ति पार्टीको कोचिला समितिको अध्यक्ष बनेका छन् ।

आगामी पुष १५ गतेभित्र एकताका लागि पार्टी मातहतका समितिहरुको समायोजन कार्य सम्पन्न गरिने र विधान सभामा राष्ट्रिय जनमुक्ति पार्टीको हकमा पहिले परिपत्र गरे बमोजिम प्रतिनिधि समावेश गरिने सहमति पत्रमा उल्लेख छ । अन्य दलको हकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु र जिल्ला अध्यक्षहरु प्रतिनिधि रहने जनाइएको छ ।

सहमति पत्रमा जनमुक्तिका अध्यक्ष पालुङ्वा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले हस्ताषर गरेका छन् भने संघीय लिम्बुवानपार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा र लोसपा निकट लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष भक्त खेबाङले हस्ताक्षर गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु