adv

क्षेत्रीलाई छ लाख राशीको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’

गुवाहाटी, भारत ।

नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व आसाम निवासी लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशीको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ हस्तान्तरण गरिएको छ ।

स्वीकारोक्ति फाउन्डेसनले सञ्चालन गरेको स्वीकारोक्ति विश्व यात्रा २०२३ अभियान अन्तर्गत बिहीबार क्षेत्रीलाई सो पुरस्कार हस्तान्तरण गरिएको हो ।

आसाम गुवाहाटीस्थित प्रराग कन्टिनेटल सभाहलमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यतामा आयोजित समारोहका बीच नेपाली साहित्यका साधक क्षेत्रीलाई स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङसहितले सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सम्मानित व्यक्तित्व क्षेत्रीले स्वीकारोक्ति दर्शनको माध्यमबाट नेपाली जातिलाई एउटै मालामा उनेर एक अर्कोको अस्तित्व स्वीकार गर्न सन्देश छर्दै हिँडेका स्वीकारोक्ति दर्शनका अभियान्ताहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

उनले लेखेको बसाँइ, ब्रह्मपुत्रको छेउछाउलगायत उपन्यास नेपाली भाषीमाझ लोकप्रिय छन् ।

लिलबहादुर क्षेत्री फाउन्डेसनका अध्यक्ष डा. शिवनाथ शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउन्डेसनका विशिष्ट सल्लाहकार समालोचक प्रा. डा. गोविन्दराज भट्टराई, भाषा आयोग नेपालका मातृकाप्रसाद पोखरेल, सिक्किम साहित्य सभाका अध्यक्ष डा. राजकुमार क्षेत्री, साहित्यकारहरु डा. छत्रमान सुब्बा, डा इन्दुप्रभा देवी, स्विकारोक्ति फाउन्डेसनका अभियान्ताहरु पातलो अन्तरे, शेखर कोईराला, दियालो शुसन माझी, नेत्र आचार्य, गजलकार विवश बलिभद्र कोईराला, खगिन्द्रा खुशी, दिलिप घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

स्वीकारोक्ति फाउन्डेसनले आफ्नो ११ औँ बार्षिक उत्सवको अवसरमा आयोजना गरेको विश्व यात्रा २०२३ नेपालको झापा बेलडाँगीबाट सुरु भइ नेपालका विभिन्न शहरमा कार्यक्रम गर्दै भारतको दार्जिलिङ, सिक्किम हुँदै आसामको गुवाहाटीमा पुगेको र सम्मान समारोह अयोजना गरेको हो ।

यात्राको समापन मंसिर २८ र २९ गते साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गरि काठमाडौँमा सम्पन्न गरिने छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु