२६ मंसिर, दमक ।

झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ ।
अस्पतालले सोमबार र मंगलवार बृहत् आर्युवेद स्वास्थ्य शिविरसहित यो सेवा शुरु गरेको हो ।
प्रदेश १ का प्रमुख सचिव डा. दिपक काफ्ले सोमबार उद्घाटन गरेको आयुर्वेद स्वास्थ्य शिविरमा पाँच सय जना भन्दा बढी बिरामीले निःशुल्क जाँच तथा उपचार पाएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले जानकारी दिए । ‘क्षारसूत्र विधिबाट पायल्सका विरामीको सहज र सरल उपचारसमेत शुरु गरिएको छ’, उनले भने ।
ठाकुरले शिविरमा आएका विरामीहरुको सबै प्रकारका जाँच, उपचार निःशुल्क गरिएको र औषधि बितरण गरिएको बताएका छन् । उनले अस्पतालको स्तरउन्नतिसहित सेवा विस्तारको क्रममा अब नियमित पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको उपचार गरिने स्पष्ट पारे ।
कविराज निरक्षक बेदप्रकाश शर्माका अनुसार डा. ठाकुर नेतृत्वको चिकित्सक टोलीमा डा. रमेश पौड्याल (सर्जन), डा. निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेस शाह, डा. मिशान्त ढकाल रहेका थिए ।
५० बेड क्षमताको आयुर्वेद अस्पतालमा ईमरजेन्सीलगायतका सेवासमेत शुरु गर्न लागिएको अस्पतालले जनाएको छ । पञ्चकर्म, भिडियो एक्स–रे, ल्याव सेवा शुरु गरेपछि विरामीको चाप बढेको बताईएको छ ।
यस अस्पतालबाट सरकारले तोकेका औषधिहरु विरामीले निःशुल्क पाउदै आएका छन् ।

