१२ पुष, दमक ।
पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सरकारको मुख्य कार्यालय अर्थात प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कायम रहेका मध्ये ६८ वटा दरबन्दी कटौती गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना गर्ने भन्दै कायम रहेको दरबन्दी हटाएको हो ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालकै प्रस्तावमा दरबन्दी कटौती गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । ‘कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्काे ठाउँमा सरुवा हुनेछ’, मन्त्री शर्माले भनेकी छन् ।
आफू नेतृत्वको गठबन्धन सरकारको एक वर्षे अवधि पुगेको अवसरमा पुष १० गते विशेष सम्बोधन गरेका प्रधानमन्त्री दाहालले सरकारको कार्यशैलीमा व्याक परिवर्तन गर्ने घोषणा गरेका थिए ।
उनले आफ्नै मन्त्रालयको कार्यशैलीमा सुधार गर्ने जनाएसँगै बिहीबार ६८ कर्मचारीको दरबन्दी कटौती गरेर पुनःसंरचना थालिएको सरकारी भनाइ छ ।


