पुष १८, दमक ।

किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समितिले झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालामा आयोजना गरेको चासोक तङनाम कार्यक्रमको हिसाब सार्वजनिक गरेको छ ।
मंगलवार झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको आम्दानी र खर्च सार्वजनिक गरिएको हो । पुष १० गते उधौली पर्वमा आयोजित चासोक तङ्नाम बृहत् साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको थियो ।
चुम्लुङ दमक नगर अध्यक्ष एवम् चासोक तङनाम मूल आयोजक समिति संयोजक देवेन्द्र मावोहाङ चेम्जोङले सार्वजनिक गरेको हिसाब अनुसार कार्यक्रममा विभिन्न चन्दादाता र सहयोगीहरुबाट पाँच लाख २८ हजार पाँच सय २० रूपैयाँ आम्दानी भएको थियो भने कार्यक्रममा पाँच लाख ५७ हजार तीन सय ६५ रूपैयाँ खर्च भएको हो ।
कार्यक्रममा भएको करिब ३० हजार रूपैयाँ खर्च संयोजक चेम्जोङ आफैले व्यहोर्ने निर्णय भएको चुम्लुङ कमल गाउँ शाखाका अध्यक्ष दिवस लिम्बूले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमार्फत कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिएको सो अवसरमा चुम्लुङ झापा शाखा अध्यक्ष शेसेहाङ फियाकले आदिवासी रंगशालामा आयोजना गरिएको यो चासोक तङनाम २०८० ऐतिहासिक रुपमा सफल भएको दावी गरेका थिए ।

