adv

पत्रकार शेर्माको उपचारका लागि ३ लाख ८७ हजार सहयोग हस्तान्तरण

६ माघ, दमक ।


घाँटीमा क्यान्सर भई उपचाररत पत्रकार कविन्द्र शेर्मालाई किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको अगुवाईमा संकलन गरिएको ३ लाख ८७ हजार आर्थिक सहयोग शुक्रवार हस्तान्तरण गरिएको छ ।

उपचारका लागि सङ्कलित रकम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अनामनगरस्थित संघीय कार्यालयमा संक्षिप्त कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको हो ।

फोनिज अध्यक्ष गजुरधन राई र किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भोका नेतृत्वहरूबाट संयुक्त रूपमा रकम क्यान्सरबाट पीडित भई उपचाररत पत्रकार शेर्मालाई हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण पछि स्वास्थ्यलाभको कामना गर्दै फोनिज अध्यक्ष गजुरधन राईले कविन्द्र शेर्मा देशकै प्रतिभा भएको बताए । ‘उहाँको उपचारलाई सफल बनाउन पूर्वदेखि पश्चिमसम्मका फोनिजकर्मी एकतावद्ध छौं’ अध्यक्ष राईले भने ।

हस्तान्तरण गरिएको रकममध्ये ३ लाख ६० हजार रुपैयाँ रकम दक्षिण कोरियामा संकलन गरिएको हो । बाँकी २७ हजार नेपालमै संकलन गरिएको सङजुम्भो, काठमाडांैं उपत्यका समन्वय समितिका अध्यक्ष विर्ख शेर्मा र सचिव डम्बर शेर्माको भनाइ थियो ।

किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाका पूर्व सचिव सुदिप शेर्माले क्यान्सरसँगको संघर्षमा कविन्द्र शेर्मालाई जिताउन आफ्नो गाँस काटेर आर्थिक सहयोग गर्ने दक्षिण कोरियास्थित शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

पाँचथरका लागि रेडियो नेपालका पूर्व संवाददाता समेत रहेका शेर्मा करिब २७ वर्षदेखि पत्रकारितामा सकृय छन् । फोनिज पाँचथरका संस्थापक अध्यक्ष समेत रहेका उनलाई पाँचथरमा पत्रकारहरू जन्माउने अगुवाका रूपमा समेत चिनिन्छ ।

सहयोग रकम ग्रहणगर्दै शेर्माले क्यान्सरसँगको लडाँइमा सबैको साथ पाउँदा अब जितिन्छ भन्ने आत्मबल बढेको सुनाए । ‘पत्रकारिताबाट आर्थिक उन्नति गर्न नसके पनि सम्पतिको रूपमा आफन्त र साथीभाइ कमाएको रहेछु’, उनले भने ।

शेर्माको उपचारमा ५० लाख बढी खर्च हुने चिकित्सकहरुले बताएका छन् । उनको उपचार सहयोगको निम्ति सहयोग अभियान थालिएको छ । फोनिज, नेपाल पत्रकार महासंघ र अन्य पत्रकारजन्य संघसंस्थाले सहयोग अभियान सञ्चालन गरेका हुन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु