adv

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुमा विद्यार्थीमाथि कुटपिट गर्ने प्रअ प्रहरी खोरमा

२१ फागुन, दमक ।


झापाको कमल गाउँपालिका–५ स्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा–११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटामाथि निर्घात कुटपिट गरेका छन् ।

प्रअ बगालेले छात्रा बाँस्कोटालाई मंगलबार आफ्नै कार्यकक्षामा डाकेर कुटपिट गरेका हुन् । बगालेले लेखेको फेसबुक स्टाटसमा छात्रा बाँस्कोटाले कमेन्ट गरेको निहुँमा उनीमाथि कुटपिट भएको बताइएको छ । बाँस्कोटाले भनिन् –‘फेसबुकमा हेडसलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले थोरै भएन र ? भनेर कमेन्ट गरेकी थिएँ । त्यसैलाई निहु बनाएर ममाथि कुटपिट भएको हो ।’ उनलाई प्रअको कार्यकक्षमा बोलाएर खानेपानीको पाइपले कुटपिट गरिएको छ ।

कुटपिटबाट छात्राको खुट्टा सुन्निएको र नीलडाम बसेको छ । बगालेले आफूमाथि कुटपिट भएको र उल्टै अभिभावक डाकेर कागज गराई विद्यालयबाट निष्कासन गरिएको गुनासो गरेकी छन् । छात्राका बुबा नवराज बाँस्कोटाका अनुसार आफूलाई विद्यालयमा बोलाएर दायाँ–बायाँ ल्याप्चे गर्न लगाएको र छोरीलाई विद्यालय नआउनु भनिएको थियो ।

उनले भने –‘छोरीले गलत गरेको भए कानुनी रूपमा सजाय भोग्न तयार हो । तर, यसरी कुट्न पाइँदैन । यसरी कुट्ने हेडसरलाई कानुनी कारबाही हुनुपर्छ ।’

कुटपिटमा संलग्न प्रअ बगालेलाई पीडित विद्यार्थीको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिएका छन् ।

कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानलेले विद्यार्थीमाथि कुटपिट भएको घटनाको पुष्टि गरे । फेसबुकमा प्रधानाध्यापकलाई अश्लील गाली गरेपछि कुटपिट भएको पाइएको उनको भनाइ थियो । उनले भने –‘कुट्नु गलत भयो । नीलडाम हेर्दा त्यो ढंगले कुटपिट गर्नु हुँदैन थियो ।’

घटना बारे छानविन गर्न कमल–५ का वडाध्यक्ष लालबहादुर विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिएका छन् । समितिलाई तीन दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ । छानविन समितिको प्रतिवेदनका आधारमा गाउँपालिकाले प्रअ बगालेमाथि थप कारबाही अगाडि बढाउने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु