सजन राई
१ बैशाख, दमक ।
प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ को उपाधि जित्दै रियल स्टार एफसी दमक विजेता बनेको छ । नयाँ वर्षको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा रियल स्टारले मानपुर एफसी माङसेबुङलाई स्तव्ध पार्दै उपाधि चुमेको हो ।
दमक १ भाङबारीस्थित स्पा एनि फुटसल कोर्टमा आयोजित प्रतियोगितामा रियल ४-० गोल अन्तरले विजयी भएको हो ।
पहिलो हाफमा २–० गोलले अग्रता लिएको रियलले दोस्रो हाफमा थप २ गोल गर्दै जित सुनिश्चित गरेको थियो ।
पहिलो सेमिफाइनल खेलमा रियलले रोयल एफसिलाई ६–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने मानपुरलेभिसि ब्रोदर्सलाई ३–० गोल अन्तरले हराउदै फाइनल पुगेको थियो ।
विजेता रियलले नगद ३१ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता मानपुरले नगद १६ हजार १ सय ११रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
व्यक्तिगत विधातर्फ रियलका निर्जल बोहोराले अधिक गोलकर्ताको उपाधि हात पार्दा रियलकै सोनु तामाङले उत्कृष्ट गोल किपरकोउपाधि पाए ।
त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट मानपुर एफसीका आशिष लिम्बू साथै उदीयमान खेलाडी भाङबारी एफसिका सौगात मगर घोषित भए ।
औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेशकटुवाल, गायक एकदेव लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको थियो ।
मैत्रीपूर्ण खेलमा इप्रका दमक विजयी
प्रतियोगिताको मैत्रीपूर्ण खेल पत्रकार मञ्च दमक र इलाका प्रहरी कार्यालय दमकबीच भएको थियो ।
खेलमा इलाका प्रहरी कार्यालय दमक विजयी बनेको थियो ।
दुवै टोलीलाई आयोजकका तर्फबाट गुरु टोली फाउण्डेशनका अध्यक्ष विशाल देवान, सचिव आकाश लिम्बूलगायतले मायाको चिनो प्रदान गरेका थिए ।