adv

इलाम २ उपनिर्वाचन – सिस्नेका बासिन्दालाई हिउँदो बर्खा नै पानीको सास्ती

कमन देवान
९ बैशाख, दमक ।

तिरतिरे धाराबाट पानी बोक्दै रञ्जना ।

तिरतिरे धाराको पानी थापेर बोक्नुको सास्ती एकातिर, अर्कोतिर मुहानको पानी धारासम्म नै नआइपुग्ला कि भन्ने पीर । इलामको चुलाचुली ६ सिस्नेका वासिन्दालाई यो समस्याले हिउँदो बर्खा नै सताइरहन्छ ।

कक्षा ८ मा पढ्ने सुरसारमा छिन् १५ वर्षीया रञ्जना लिम्बू । बिहान, दिउँसो र साँझ गरी उनले दैनिक तीन पटक आधा घण्टाको बाटो उकालो ओरालो गरेर पानी बोक्नु पर्छ ।

‘मुहानमा समस्या भयो भने त अझ तीन घण्टा जति तलबाट पानी बोकेर ल्याउनु पर्छ । त्यो बेला त दिनभरीको काम नै पानी बोक्ने मात्रै हो’, लिम्बूले भनिन् ।

घरमा कुखुरा, बाख्रा र अरु चौपाया छन् । पानी बोकेरै खुवाउनु पर्ने वाध्यता छ उनलाई । पानी बोक्ने काम विद्यालय जाने र पढ्ने भन्दा पनि पहिलो प्राथमिकतामा पर्दछ उनका लागि । ‘पानी बिना त बाँच्नै सकिन्दैन नि त !’, रञ्जनाको बुझाई हो यो ।

उनको घरमा जस्तै सिस्ने गाउँमा १५ घर परिवारले यसै गरी तिरतिरे धाराको भरमा गुजारा गर्दै आएका छन् । गाउँलेलाई जति बाटो, बिजुली, स्वास्थ्यले हेपेको छ, पानीको कहर पनि कम छैन ।

मेरुदण्ड रोगी नरबहाुदर नेम्बाङ ।

रञ्जनाको घरमा मेरुदण्ड रोगी दाजु नरबहादुर नेम्बाङ छन् । घरका अभिभावक उनी खाठमा बसेर अराउ खटाउ गर्न त सक्छन् तर बलको काम गर्न र हिँडडुल गर्न सक्दैनन् ।

‘म त केही गर्न सक्दिनँ । चुनावको बेलामा मलाई मोटरसाईकलमा चढाएर भोट हाल्न लैजान्छन् । चलाउने एक जना, पछाडिबाट समाउने अर्को गरी दुई जना चाहिन्छ’, चुनावी प्रसङ्ग जोडदै नेम्बाङले भने ।

आफूले २०६४ सालयताका चुनावहरुमा मतदान गरेको स्मरण गर्दै उनी भन्छन् –‘बाटो हेर्यो दुःख लाग्छ । बिजुली कहिले बल्ने थाहा छैन । अरु त अरु खाने पानीको दुःख कहिल्यै हटेन हाम्रो ठाउँमा । कम्तिमा पानी भए त यत्तिको ठाउँमा सब्जी खेती गरेर भए पनि परिवार पाल्न सहज हुनेथियो ।’

चुलाचुली ६ को सिस्ने गाउँ ।

चुनावमा नेताले दिने आश्वासन र आफूहरुको जीवन भोगाई नमिल्ने सिस्नेका मनकुमार लिम्बूको पनि अनुभव छ । आम जनताको जीवन सहज बनाउन राजनीतिक दलहरुले काम नगरेकोप्रति पनि उनको गुनासो छ । ‘तर के गर्नु ? भोट दियो जितायो, जितेर हामीलाई बिर्सिहाल्छन्’, लम्बू आजित हुँदै भन्छन् ।

सिस्ने टोलको खोनपानी समस्या समाधान गर्न सहज नभएको चुलाचुली ६ का वडा अध्यक्ष दिलकुमार राईको स्वीकारोक्ति छ ।

‘सिस्नेमा केही घर परिवारलाई खानेपानीको साँच्चै नै दुःख छ । नजिकै गतिलो पानीको मुहान छैन । ठूला परियोजना सञ्चालन गरेर पानी खुवाउन सक्ने हैसियत हामी वडासँग पनि छैन’, वडा अध्यक्ष राईले भने ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु