९ बैशाख, काठमाडौं ।
विभिन्न राजनीतिक दलको कार्यकारिणी समितिमा आबद्ध शिक्षक र कर्मचारी अब कारबाहीमा पर्ने भएका छन् ।
आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रीस्तरीय निर्णय बमोजिम निर्देशन कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई लेखी पठाएको हो ।
राजनीतिक दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्ने बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णय गरेको थियो ।
मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्लाका शिक्षा इकाईलाई परिपत्र भएको मन्त्रालयले जनाएको हो ।
सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेका छन् ।
यसरी परेका उजुरीउपर आवश्यक अनुसन्धान गरेर कारबाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले केन्द्रलाई निर्देशन दिएकी हुन् । केन्द्रले सोही अनुसार आवश्यक कारबाही गर्न भनस् इकाइहरूलाई परिपत्र गरेको जनाइएको छ ।
राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ का प्रावधानहरुले समेत सरकारी विद्यालयका शिक्षक र कर्मचारीलाई राजनीतिक दलमा आबद्ध हुन बन्देज गरेको छ ।