सजन राई ।
दमक । झापाको दमकमा साकेला सिली प्रशिक्षणको उद्घाटन तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमवार दमक-५ स्थित दिपिनि आधारभूत विधालयको सभाहलमा आयोजित कार्यक्रममा एक महिने निशुल्क साकेला प्रशिक्षण शुरु गर्नुका साथै साकेला सम्बन्धी आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
दमक ५ वडा कार्यलयको आर्थिक सहयोगमा किरात राई यायोक्खा दमक ५ वडा समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि दमक नगरपालिका प्रमुख राम कुमार थापाले सबै भाषा, धर्म, संस्कार र संस्कृतिलाई नगरले समान रुपमा हेर्ने र आवश्यकता अनुसार सहयोग गर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराईका अनुसार युवा पुस्तामा संस्कृतिप्रतिको मोह बढ्नुले समाजमा सकारात्मक सन्देश दिएको छ ।
दमक ५ वडा अध्यक्ष तथा कार्यक्रममा विशिष्ट अतिथि इन्द्र बहादुर गुरुङले संस्कार संकृति हराए पहिचान हराउने, पहिचान हराए आफु हराउने बताए । साथै सबै जातजातिका सांस्कृतिक प्रतियोगिता हुनु पर्ने र उक्त प्रतियोगिताको लागि नगरले पनि सहयोग गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा किरात राई यायोक्खा दमक नगर अध्यक्ष बासुदेव राई, याक्खा छुम्मा पूर्व झापा जिल्ला अध्यक्ष वर्तमान सल्लाहकार तथा सोधकर्ता, लेखक मछिन्द्र याक्खा लगायतले बोलेका थिए । साथै किरात राई यायोक्खा पुर्व केन्द्रीय उपाध्यक्ष बुद्धि बहादुर राई, दमक नगर कार्यपालिका सदस्य ख्याम कुमारी परियार, दमक ५ निर्वाचित सदस्यहरु गोपाल कृष्ण संग्रौला, शोभा देवी खतिवडा, खड्ग बहादुर राई, वडा सचिव निधिनारायण ढुङ्गेल, किरात राई यायोक्खा दमक नगर सचिव ज्ञानेन्द्र राई, यायोक्खा दमक नगर सदस्यहरु हरि प्रसाद राई, जेबि राई, किरात कोयू समाज दमक नगर अध्यक्ष राजमान राई, दिपिनि आधारभूत विधालयका प्रधानाध्यापक सेस कुमार निरौला, सह-प्रधानाध्यापक बब्रुवान दाहाल लगायतको उपस्थिति रहेको थियो ।
वडाबाट विनियोजित रकमबाट साकेला सम्बन्धी आवश्यक सामाग्रीहरु खरिद गरी औपचारिक रुपमा अतिथिहरुको हातबाट हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष शिवदास राईले जानकारी दिए । सोमबार देखि एक महिनाको लागि बेलुका ६ बजे देखि साकेला सिली प्रशिक्षण सुरु गरेको हुनाले इच्छुकले दिपिनि स्कुलको प्राङ्गणमा सहभागी हुन पनि आव्हान गरे ।