२७ बैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीको आसन्न महाधिवेशन र मुलुकको समसामयिक राजनीतिक विषय बारे छलफल गर्न भन्दै केन्द्रीय समितिको बैठक डाकेको छ ।
बैशाख ३१ र जेठ १ गते दुई दिनका लागि डाकिएको केन्द्रीय समितिको बैठकमा आसन्न जेठ २८, २९ र ३० गते जनकपुरमा डाकिएको जसपा नेपालको प्रथम एतिहासिक महाधिवेशन सम्पन्न गर्ने बारे आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।
त्यस्तै हालसालै जसपा नेपालबाट अलग्गिएर अशोक राई नेतृत्वमा गएका समूह बारे छलफल हुने अनुमान गरिएको छ । बैठक जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न हुने छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राई समूह पार्टीबाट बाहिरिए पनि बहुमत केन्द्रीय समिति जसपा नेपालमै रहेको दावी गरेका छन् ।
निर्वाचन आयोगले राई नेतृत्वको दावी अनुसार पार्टी दर्ताको प्रमाणपत्र दिने काम गैरकानुनी रहेको र त्यसविरुद्ध अदालत जाने अध्यक्ष यादवले बताइसकेका छन् ।