काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन् ।जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो। सन्दीपले पुनरावेदनबाट सफाइ पाएसँगै उनी अब विश्वकप खेल्ने बाटो खुलेको छ।
पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबार मुद्दामा बहस सकिएसँगै मुद्दाको फैसला भएको हो।
सन्दीपलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।
त्यसपछि उनी गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका थिए। त्यस्तै गत १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगे।
दुबैको मुद्दालाई २३ चैतमा उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुबैपक्षको पुनरावेदन दर्तासँगै मुद्दा औपचारिक रुपमा उच्च अदालतमा प्रवेश दिएका थिए।
त्यसपछि ३ वैशाख न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो। त्यसपछि अर्को पेशी १० वैशाखमा रहेपनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा पर्यो।
तर १६ वैशाखमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ गर्ने समय नपुग्ने भन्दै सुनुवाइ भएन। यद्यपि उनीहरुले मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिए।
त्यसपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा २३ वैशाखमा पहिलो नम्बरमै भएपनि उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्नेमा राखेको थियो।
यसैबीच, क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै लामिछानेको निलम्बन फुकुवा गरेको जनाएको छ । उच्च अदालतको फैसलापछि क्यानले विज्ञप्ति जारी गरेको हो । लामिछानेले सफाइ पाएलगत्तै क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
‘सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ’, क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।