सजन राई ।
६ जेठ,माङसेबुङ । इलामको माङसेबुङमा स्वतन्त्र सचेत नागरिक समूहले श्रम अभियान सुरु गरेको छ । २०८० फागुन २४ गते माङसेबुङ ३ स्थित चतुरे बजारमा गठित सचेत समूहले २०८१ जेठ ५ गते शनिवार श्रम अभियान सुरु गरेको हो ।
समूहले दमक चिसोपानी(प्रस्तावित फाल्गुनन्द) राजमार्गको माङसेबुङ ३ र ६ को सिमाना बगरे देखी माङसेबुङ २ को चित्रे सम्म सडक मर्मत तथा सरसफाइ गरेको थियो ।
“हप्ताको छ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि” भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ सहित पालिकाका सचेत यूवाहरुको उपस्थिति रहेको थियो ।
दमक चिसाोपानी सडक खण्ड नै किन रोज्नु भयो भन्ने प्रश्नमा अभियान्ता शंकर योङहाङ भन्छन् ” सुन्दा पनि लाजमर्दो । ३० वर्ष भयो यो सडकको ट्य्राक खुलेको तर अहिले सम्म हिउँद हिलाम्मे र बर्खा धुलाम्मे । ठेकदार खराब अनि नेपालको निति कमजोर भए पछि धेरै त स्थानीयले दुख पाइन्छ । त्यहि भएर पनि हामीले यो सडक खण्डलाई सामान्य मर्मत गर्न प्राथमिकतामा राख्यो ।”
लुम्बिनि गणपतिले २०७६ मा ठेक्का पारेको यो सडकको २०७५ असोजमा २६ वर्ष पछि कालोपत्रे शिर्षकमा समाचार आउदा स्थानीय हर्षित थिए । तर ४ पटक म्याद थप गरिएको यो सडकको अहिले ठेक्का खारेज भएको छ ।
स्थानीयहरु भन्छन् राजनैतिक संरक्षण पाएका ठेक्का कम्पनिहरु ढुक्क छन् । काम जति ढिलो गरेपनि, गुणस्तरहिन गरेपनि कारबाही हुने छैन ।
समाजमा विधमान विकृति र विसङ्गतिहरुको विषयमा सचेत गराउन, सार्वजनिक कार्यहरु छिटो र पारदर्शी बनाउन भूमिका निर्वाह गर्ने, श्रम अभियानबाट आफ्नो ठाउँको विकासमा प्रतक्ष्य सहभागी हुने लगायत नै सचेत समूहको उदेश्य रहेको अर्का अभियान्ता प्रविन लिम्बू बताउछन् ।
समूहले प्रत्येक शनिवार सुरु गरेको श्रम अभियान अन्तर्गत आउँदो शनिवार माङसेबुङ ३ अन्तर्गत दमक चिसोपानी सडक खण्डको नुवामी देखी शनिवारेमा रहेको साम्बा होटल सम्म मर्मत तथा सरसफाइ गर्ने रहेको छ ।
त्यसै गरी अर्को शनिवार माङसेबुङ २,३ र ६ को संगम स्थल धार्मिक तथा पर्यटकिय स्थल माङमालुङको पदमार्ग थाला चेप्पा पोखरी देखि मन्दिर परिसरसम्म सरसफाइ गर्ने समूहका सदस्य अनिस सुनुवारले जानकारी दिए ।