adv

गणतन्त्र दिवसको अवसरमा माङमालुङमा श्रमदान र दिप प्रज्वलन

सजन राई । 

माङसेबुङ । हप्ताको छ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि” भन्ने मूल नाराका साथ सुरु गरेको स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको तेस्रो हप्ताको श्रमदान अभियान सम्पन्न भएको छ ।

स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको अगुवाइमा भइरहेको श्रमदान अभियान अन्तर्गत मंगलवार गणतन्त्र दिवसको अवसरमा माङमालुङ सरसफाइ तथा पदमार्ग स्तरोन्नती गरिएको हो । माङमालुङको विजुवानी ढुङ्गा छेउबाट ठूलो चौर सम्मको बाटोमा श्रमदान गर्न ६० जनाको उपस्थिति रहेको सचेत समूहका सदस्य शंकर योङहाङले जानकारी दिए ।

समूहका अर्का सदस्य सन्त कुमार राई भन्छन् ” यो पवित्र धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक तथा बाह्य पर्यटक धेरै आउने गर्दछन् । तर पदमार्ग सानो भएको कारण आवतजावतमा समस्या नै थियो । अब भने श्रम अभियानले अप्ठ्यारो बाटोलाई यात्रा गर्न सहज बनाइदिएको छ ।

इलामको पश्चिम क्षेत्रमा माङसेबुङ गाउँपालिका रहेकोछ । माङसेबुङको २ र ६ नम्बर वडाको सङ्गम स्थलमा पर्छ माङमालुङ । जिल्लाकै प्रसिध्द ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको माङमालुङको नेपाली अर्थ विजुवानी ढुङ्गा रहेको छ । राई वान्तावा भाषामा माङ्मा भनेको विजुवानी र लुङ भनेको ढुङ्गा हो ।


उहिले माङमालुङमा रहेको पोखरीमा नाग बस्थ्यो। जहाँ मानिस लगायत कुनै पनि जीवजन्तु जान सक्दैन थियो ।
जस्लाई भगाउन शक्ति प्रदर्शन गर्ने क्रममा माङमाले नाग बस्ने ढुङ्गालाई सात चिरा पारेको कुरा इतिहासमा आउछ । त्यहि बेलाबाट माङमालुङ नाम रहन गएको स्थानीयहरु बताउछन् ।

माङमालुङ इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिम तथा समुद्री सतहबाट करिब २ हजार १ सय मिटरको उचाइमा रहेको छ ।
लगभग १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ ।

श्रम अभियानमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, पालिकाका प्रवक्ता सुसन राई साथै शिक्षक, कर्मचारी, व्यापारी, पत्रकार, सरोकारवाला तथा समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसैबीच समूहले दिप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाएका छन् । संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको खुशि सँगै ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै गणतन्त्र दिवस मनाएको हो ।

मंगलवार दिनभरि माङमालुङ परिसरमा श्रमदान गरेको सचेत समूहले साझ त्यसै क्षेत्रमा दिप प्रज्वलन गरेका थिए ।

माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राईको उपस्थितिमा भएको दिप प्रज्वलन कार्यक्रमको सञ्चालन सचेत समूहका सदस्य शंकर योङहाङले गरेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु