सजन राई ।
माङसेबुङ । इलामको माङसेबुङमा जारी वडा स्तरीय भेट्रान्स प्रतियोगिता २०८१ को पहिलो दिनको खेलमा माङसेबुङ ६ ले विजयी सुरुवात गरेको छ । माङसेबुङ २ चित्रे स्थित डोलटार खेल मैदानमा सञ्चालन भएको पहिलो दिनको दोस्रो खेलमा माङसेबुङ-२’बी’ लाई १-० गोल अन्तरले हराउदै दोस्रो चरण प्रवेश गरेको हो ।
पहिलो हाफ बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफमा आक्रमक खेल खेलेका थिए । दोस्रो हाफको अतिरिक्त समयमा माङसेबुङ ६ का उदय राईले गोल गर्दै टिमको जित पक्का गरेका थिए ।
खेलको म्यान अफ द म्याच विजयी गोल गरेका उदय राई घोषित भए ।
माङमालुङ चापेती फुटबल क्लब(एमसिएफसि)को आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेल माङसेबुङ-३’बी’ र माङसेबुङ-२’ए’ बिचको खेल भने विभिन्न समस्याका कारण अर्को दिनका लागि सारिएको आयोजक समितिका अध्यक्ष अशोक राईले जानकारी दिए ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरु सहभागी भएका थिए ।
उद्घाटन सत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष बिनोद नेम्बाङ, पालिकाका प्रवक्ता सुसन राई, माङसेबुङ-६ वडा अध्यक्ष प्रदिप साङपाङ, माङसेबुङ-३ वडा अध्यक्ष जनम खम्बू, माङसेबुङ-६ का वडा सदस्यद्वय दिवस सिप्तुङ्खा, खगेन्द्र खड्का, आदर्श साहारा क्लवका अध्यक्ष दिपेन नेम्बाङ, जनता कल्याण आविका अध्यक्ष शंकर योङहाङ लगायतको उपस्थिति रहेको थियो ।
आइतवार दोस्रो दिनको पहिलो खेल वडा १ र वडा ६”बी” बीच हुनेछ भने दोस्रो खेल वडा ४ र वडा ३”ए” बीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा माङसेबुङका ५ नम्बर वडा बाहेक ५ वटा वडाका ‘ए’ टिम साथै वडा नम्बर ६, ३ र २ को ‘बि’ टिम सहित आठ टिमको सहभागिता रहेको छ ।