adv

जारी भेट्रान्स प्रतियोगितामा माङसेबुङ १ र ३ सेमिफाइनल प्रवेश

सजन राई ।माङसेबुङ । इलामको माङसेबुङमा जारी वडा स्तरीय भेट्रान्स प्रतियोगिता २०८१ को दोस्रो दिनको खेलमा माङसेबुङ-१ र ३ विजयी हुदै सेमिफाइनल प्रवेश गरेको छ । माङसेबुङ-२ चित्रे स्थित डोलटार खेल मैदानमा सञ्चालन भएको दोस्रो दिनको पहिलो खेलमा माङसेबुङ-१ ले माङसेबुङ-६”बी” लाई २-० गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो हाफमा राजेन्द्र राईको गोलबाट अग्रता लिएको वडा १ ले दोस्रो हाफमा गणेश खत्रीको गोल सँगै अग्रता दोब्बर बनायो । बाँकी समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
त्यस्तै आइतवार नै भएको दोस्रो खेलमा वडा नम्बर ३”ए”ले वडा ४ लाई १ का विरुध्द ३ गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

पहिलो हाफमै गोल गर्दै टिमलाई अग्रता दिलाएका वडा ३ का रमेश राईले दोस्रो हाफमा पनि व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गर्दै अग्रता बढाएका थिए । दोस्रो हाफमा वडा ४ का कृतिमान राईले गोल गर्दै अग्रता घटाए पनि निर्धारित समयको अन्तिम तिर वडा ३ का आइतराज लिम्बूले गोल गर्दै जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच विजयी टिम वडा १ का गणेश खत्री र वडा ३ का रमेश राई घोषित भए ।

खेल पछि हरप्रहर मिडिया सँग कुरा गर्दै आयोजक माङमालुङ चापेती फुटबल क्लब(एमसिएफसि)का अध्यक्ष अशोक राईले मौसमले साथ नदिएकोले खेल आयोजनामा केही कठिनाइ भएको बताए । भन्छन् हुस्सुका कारण केही समय त नजिकको मान्छे पनि नदेखिदा खेलाडी तथा रेफ्रिहरुलाई पनि समस्या भइरहेको छ ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरु सहभागी भएका थिए ।

सोमवार भने पहिलो दिन स्थगित भएको वडा २”ए” र वडा ३”बी” को खेल हुनुका साथै समिफाइनलका खेलहरु हुने आयोजक समितिले जानकारी दिए ।

सेमिफाइनल खेलमा वडा ३”ए” ले वडा ६”ए” सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् भने वडा १ ले वडा २”ए” र वडा ३”बी” को विजेता सँग खेल्नेछन् ।
फाइनल खेल भने २२ गते मंगलवार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा माङसेबुङका ५ नम्बर वडा बाहेक ५ वटा वडाका ‘ए’ टिम साथै वडा नम्बर ६, ३ र २ को ‘बि’ टिम सहित आठ टिमको सहभागिता रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु