कृषकहरुले बर्षेनी फलहरु फलाएर राम्रो आम्दानीको स्रोत बनाइरहेका हुन्छन । तर चुलाचुली गाउँपालिका ५ निवासी ३२ वर्षीय प्रकाश राईले भने आफ्नो बारीको फलफुल सित्तैमा दिरहेका हुन्छन् । झापाको दमक देखि ६ किलोमिटर उत्तर लागेपछि इलामको चुलाचुली गाउँपालिका पुगिन्छ । चुलाचुली ५ आपगाछीको सुन्दर डाडाँ पुगेपछि देखिन थालिन्छ राईको फलफुल बगान ।
राईले करिब एक बिगाह क्षेत्रमा लिच्चि, आँप, केरा, कटहर लगायतको फलफुलहरु लगाइएका छन् । यहि समयमा पुग्ने हो भने ३०-३२ बोट लिच्चि लटरम्म फलिरहेको छ । फलिरहेको फल बेच्ने हो भने राम्रै आम्दामी समेत हुने देखिन्छ । तर, राईले आफ्नो बारीमा भएको फलफूल सित्तैमा खान दिन्छन् । सुन्दा अचम्म लागे पनि यथार्थ यहि हो ।
लिच्चि खानका लागि इलाम, झापा, मोरङ सहित पाँचथर जिल्लाबाट पनि चिनजानका साथिभाईहरु आइपुग्ने उनले बताउछन् । राईले गतवर्षदेखि निशुल्क लिच्चि खान दिदै आएका छन् । राईका अनुसार बोटबिरुवा यहि अवस्थामा रहे अर्को सालबाट एक सय ५० बोट बढिले फल दिनेछ । त्यसैले केहि बोट ठेक्कामा दिएर अन्य भने निशुल्क खानका लागि राख्ने योजना रहेको बताउछन् ।
उनले बगानमा आएकाहरुलाई जति पनि खानका लागि निशुल्क गरिदिएका छन् । तर बोकेर लान भने पाइन्दैन । लिच्चि बेचेर प्राप्त गरेको आम्दानी भन्दा निशुल्क खान दिदा बढि आनन्द मिल्ने गरेको राई बताउछन् । उनले भने-यहाँ बगानमा आउनुहुन्छ लिच्चि खाइसके पछि खुसि व्यक्त गर्नुहुन्छ त्यहि कुराले मलाइ आनन्द महसुष हुन्छ । मरेर जादा पैसा लगिन्दैन त्यसैले धेरै लोभ गर्नु हुदैन भन्ने उनको तर्क छ ।
निशुल्क दिनका कारण पनि हरप्रहरन्यूज डटकमसँगको कुराकानीमा जोड्दै उनले भने- एक पटक मुस्ताङ जाने क्रममा एक होटेलमा बास बसेका थियौ । हामि बसेको होटेलको बगानमा स्याउ सकिएको रहेछ । अरु होटेलको बगानमा स्याउ थियो । तर अरु बगानको स्याउ खान त के किन्न पनि नपाइन्दो रहेछ । त्यहाँको चलन होला, त्यस्तै चलिआएको रहेछ । तर, हामिलाई भने सार्है नमज्जा लाग्यो ।
मुस्ताङ पुगेर नजिकैको बगानमा रहेको स्याउ खान नपाउँदा सोचे कि मेरो पनि लिच्चि बगान छ । धेरैको लिच्चि बगान नहोला । उनिहरुले पनि खान नपाएको छ कि भनेर सोच आएपछि निशुल्क खान दिने योजना बनाएपछि गतसाल देखि निशुल्क दिदै आइरहेको बताउछन् ।
राईको बगानमा धेरैजसो मजापुरी जातको लिच्चि पाइन्छ । छिटो पाक्ने र मिठो हुने हुदाँ यस्को माग काठमाडौं तिर ज्यादा रहेको राई बताउछन । यससँगै चाइनिज र सिडलेस जातका लिच्चिहरु किसानका रोजाइमा परिरहेको छ । यो चाडो पाक्ने र मिठो हुने हुँदा बजारमा समस्या नभएको राई बताउछन् । बाँझो रहेका जमीनको सदुपयोग गरी अर्गानिक फलफूल र सागसब्जी उत्पादन गर्ने हो भने यसले आफुलाई खान पनि हुन्छ र बेच्न पनि सकिने हुँदा आम्दानीको स्रोत पनि हुन्छ । मिहिनेत गरे नेपालमै पनि धेरै अवसरहरु छन् । सरकारलाई गाली मात्र गरेर नहुने उनको तर्क छ ।
वैदेशिक रोजगारीमा जानका लागि काठमाडौंसम्म पुगेका प्रकाश रा विदेश जान नसकेपछि आफ्नै ठाउँमा कृषि पेशामा रमाउन थालेका छन् । आमा र दाजु भाउजु अमेरिकामा छन् भने उनि छिमेकी भाइसँग बस्दै आएका छन् ।