३ असार, दमक ।
अदालतमा विचाराधीन रहेको जग्गा किचलो विवादमा दमक नगरपालिकाले हस्तक्षेप गरेको बुझिएको छ ।
आफ्नो निजी जग्गाबाट बाटो खोल्नुपर्ने दमक नगरपालिका न्यायिक समितिको निर्णयविरुद्ध जग्गा धनी दमक ७ की सुनिता राईका पति प्र्वीण चाम्लिङले झापा जिल्ला अदालतमा न्यायिक समितिको निर्णयविरुद्ध मुद्दा दायर गरेका हुन् ।
तर, मुद्दा परिसकेको सो जग्गा किचलोमा दमक नगरपालिकाले भने नगर प्रहरी र नेपाल प्रहरीको समेत सहयोगमा जेठ ३२ गते बिहान जग्गा धनी पक्षले गरेको घेराबारा भत्काएर लगेको थियो ।
नगरपालिकाले आफूहरुलाई पुनारवेदनको समय पनि नदिएको र तीन दिनभित्र बाटोको लागि जग्गा खाली गर्न आदेश दिएको भन्दै जग्गा धनी सुनिता राई र प्रवीण चाम्लिङले असार १ गते पत्रकार सम्मेलन गरे।
चाम्लिङले भने ‘नगरपालिका र न्याय समितिले हाम्रो निजी जमिन हत्याउने दुस्सहास गर्यो । बाली सुरक्षाका लागि गरिएको घेराबारा गुण्डागर्दी शैलीमा भत्कायो र लग्यो, खेदजनक काम भयो ।’
पत्रकार सम्मेलनमा उनले जग्गा सम्बन्धी आफूसँग भएको जमिनको पूर्जा, नक्सा र आवश्यक कागजात समेत सञ्चारकर्मीहरुलाई वितरण गरेका थिए । उपलव्ध गराइएको नक्सा अनुसार कतै बाटो भएको देखिँदैन ।
दमक ७ स्थित हाटखोला पूर्वमा चाम्लिङसहित सँधियार गोमा राईसमेतलाई विपक्षी बनाएर दमक नगरपालिकाको न्यायिक समितिले निजहरुले भोगेको जमिन बाटो भएको ठहर गर्दै बाटो खाली गर्न आदेश गरेको थियो ।
‘हाम्रो पैतृक सम्पत्तिमा रहेको निजी जमिन बाटोका लागि दिनु भन्ने न्यायिक समितिको निर्णय गलत छ । यो त प्रतिशोधपूर्ण भयो’, चाम्लिङले भने । उनले लगत्तै आफ्नो जमिनमा पुन: घेराबारा गरेको बताएका छन् ।
अदालतले आफूहरुको निजी सम्पत्ति सुरक्षित हुनेगरि फैसला गर्ने राई दम्पत्तिको विश्वास छ ।
सो जग्गामा बाटो कायम गराई पाउँ भनी सोही वडाका बुद्धबीर राई, तुलसी कटुवाललगायतले नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए । उनीहरुले गरेको उजुरीमा जग्गा धनीद्वय सुनिता राई र गोमा राईलाई विपक्षी बनाइएको देखिन्छ ।