११ असार, काठमाडौं ।
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा भोलि बुधबार प्रकाशन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार एसईई २०८० को नतिजा प्रकाशनका लागि बोर्ड अन्तिम तयारीमा छ ।
‘प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं’, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने जनाएको छ । जसमा विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनु पर्नेछ ।
त्यस्तै आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा कम्तिमा ४० प्रतिशत अर्थात न्यूनतम १० अङ्क ल्याउनु पर्नेछ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अङ्कलाई ग्रेडमा रूपान्तरण गरिने छ ।
यस वर्षबाट कुनै पनि विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अङ्क नपाएको अवस्थामा प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख गरिने परीक्षा बोर्डले जनाएको छ । यसरी एनजीमा पर्ने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अङ्क नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने बताइएको छ ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नल्याएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्काे वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा चार लाख ११ हजार ४०७ परीक्षार्थी सहभागी रहेका थिए ।