१२ असार, दमक ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आजै दिउँसो ४ बजेसम्ममा नतिजा सार्वजनिक बताए पनि प्राविधिक कारणले समय अपुग भई भोलि बिहानलाई समय सारिएको जनाएको हो ।
परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले दिएको जानकारी अनुसार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर भोलि बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । प्राविधिक तयारी नपुगेकाले नतिजा एक दिनपछि आउने पौडेलले बताए ।
‘हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो । भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ’, उनले भने ।
गत वर्षको १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ ।