१२ असार, दमक ।
नेपाल आइडल सिजन ५ का विजेता करन परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गितार उपचार दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाईसहित गितार उपहार दिएका हुन् ।
करन परियार बर्दियाबाट यस सिजनमा भाग लिन काठमाडौं आएका थिए भने निम्न वर्गीय आर्थिक अवस्थाका उनलाई उनको संगीतप्रतिको समपर्ण र सबैसँगको आत्मियताका कारण प्रतियोगिता अवधिभर अत्यधिक रुचाइएको थियो ।
करनले नेपाल आइडलको सिजन ५ मा बाजी मारेसँगै रियालिटी शोहरुमा पैसा खर्च गर्न सक्नेले भोट गरेर मात्रै जित्छ भन्ने भाष्य अन्त्य भएको सामाजिक सञ्जालहरुमा व्यापक चर्चा हुँदै आएको छ ।
बालुवाटार स्रोतले दिएको जानकारी अनुसार परियारलाई बधाई ज्ञापन गर्दै दाहालले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको जिकिर गरे । ‘युवा पुस्ताका हरेक सुख दुःखमा म साथ रहँदै आएको छु’, उनले भनेका थिए ।
विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।