बुद्धशान्ति । झापा मिडिया कप २०८१ को उपाधि पत्रकार मञ्च दमकले हात पारेको छ । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा बुद्धशान्ति १ स्थित होक्सेमा सम्पन्न प्रतियोगिताको फाईनल खेलमा भद्रपुर प्रेस क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको हो ।
फाइनल खेलको पहिलो हाफमा रोजन पाठकको गोलमा भद्रपुरले अग्रता लिएको थियो । दोस्रो हाफमा दमक खेलमा फर्कियो । दोस्रो हाफमा दमकको तर्फबाट गोल गर्दै खेललाई बराबरी बनाए । दमकका शिशिर उप्रेतीले दुई गोल गर्दा राम भेटवालले एक गोल गर्दै जित पक्का गरेका थिए ।
पहिलो सेमिफाइनल खेलमा दमकले अर्जुनधारा प्रेस क्लबलाई ट्राइबेकरमा ४-३ को गोल अन्तरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । निर्धारित समय एक एकको बराबरीमा सकिए पछि खेलको निर्णय ट्राइबेकरबाट हुन पुगेको थियो ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल खेलकुद पत्रकार मञ्च झापालाई २ का विरुद्ध ३ गोल गर्दै भद्रपुरले फाईनलको यात्रा तय गरेको थियो ।
जितसँगै दमकले नगद रु २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए भने उपविजेता भद्रपुरले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
फाइनल खेलको म्यान अफ द म्याच दमकका शिशिर उप्रेती चुनिए ।
व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका सुसन राई घोषित हुँदा उत्कृष्ट मिडफिल्डर भद्रपुरका याम लिम्बू, उत्कृष्ट गोलरक्षक दमकका चिरञ्जीवी घिमिरे, उत्कृष्ट डिफेन्डर भद्रपुरका रोजन पाठक, उत्कृष्ट प्रशिक्षक दमकका बादल माझीले हात पारे । विजेताहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका १ का वडा अध्यक्ष अनिल वाग्ले लगायतले पुस्कार वितरण गरेका थिए । विजेताले स्थानीय उत्पादन मुढा र रोङ गाउँपालिकको उत्पादन गुन्द्रुक र चिया पुरस्कार स्वरुप प्राप्त गरेको थियो ।
प्रतियोगिता असोज १७ र १८ दुई दिन सञ्चालन भएको थियो । जहाँ झापा जिल्ला भरिका प्रेस क्लबहरुको सहभागिता रहेको थियो ।