माङसेबुङ । साकेला उभौली २०८२ को अवसरमा इलामको माङसेबुङमा किरात राईहरुको साँस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ। साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समिति इलामको माङसेबुङ गाउँपालिका इलामको आयोजनामा पारुहाङ साकेला थान होस्टेमा बृहत् साकेला सिली प्रदर्शन गरिएको हो।
साकेला सिली प्रदर्शनका लागि पाँचथर र इलामका १८ वटा साकेला समूहले सहभागिता जनाएका थिए। जातीय भेषभूषामा सझिएका राई समुदायका कलाकारले आफ्नो सांस्कृतिक नाच साकेला सिली प्रदर्शन गरेका थिए।
गत वर्षदेखि होस्टेमा बृहत् साकेला प्रदर्शन गरिँदै आएको छ। गत वर्ष हस्टेमा वाबुक (चिन्डो)को प्रतिमाको राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले किरात समुदाय संस्कृतिको धनी भएको बताए। उनले किरात समुदायको संस्कृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका रूपमा अगाडि बढाउनुपर्ने बताए। यस्ता चार्डपर्व पहिचान झल्कने अवसर भएको बताए।
कार्यक्रममा बोल्दै पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए। यसका लागि पर्यटन कार्यालय सहकार्य गर्न तयार भएको उनको भनाइ थियो।
पूर्वमा बस्ने किराती समुदायले उधौली र उभौली विशेष कर्यक्रम गरेर मनाउँदै आएका छन्। बैशाखे पूर्णिमामा उभौली मनाउने गरिन्छ। प्रकृति पूजक किरातीहरूले वैशाखमा बाली लगाउने वेलामा उभौली र मंसिरे पूर्णिमामा बाली भित्र्याउने समयमा उधौलीको अवसरमा विशेष कार्यक्रम गरेर मनाउने गरेका छन्।
चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोलरझ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ। साकेला उभौली तथा उधौली किरातीहरू राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मनाउने गरेका छन्।











