माइजोगमाई । माङ्सेबुङ गाउँपालिका तेस्रो माइजोगमाई अध्यक्ष कपको फाइनल प्रवेश गरेको छ ।
सोमबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा माई नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ उपाधि नजिक पुगेको हो ।
पहिलो हाफको १३औं मिनेटमा निर्मल राईले गोल गर्दै माङसेबुङलाई अग्रता दिलाए । खेलको २७औं मिनेटमा मनु लिम्बूले गोल थप्दै अग्रता बढाएका थिए ।
खेलको म्यान अफ दि म्याच माङसेबुङका निर्मल लिम्बू घोषित भए । मंगलबार हुने दोस्रो सेमि फाइनल आयोजक माईजोगमाई र देउमाई नगरपालिका बिच हुनेछ ।
इलामका १० वटै स्थानीय तह सहभागी प्रतियोगिताको फाइनल वैशाख ३१ मा हुनेछ । माइजोगमाई गाउँपालिकाको पूर्ण आर्थिक सहयोग तथा माइजोगमाई खेलकुद विकास परिषदको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।