adv

ओझेलमा गिद्ध बस्ने गिद्धभिर

सजन राई
१. पृष्ठभूमि:
नेपालको सुदुरपूर्वी जिल्ला इलामको दक्षिण-पश्चिममा छ, माङसेबुङ गाउँपालिका । साविक बाँझो, इभाङ र गुजुमुखी गाविसलाई मिलाएर बनेको माङसेबुङ गाउँपालिका धार्मिक, साँस्कृतिक, भाषिक, प्राकृतिक आदि विविधताले भरिपूर्ण रहेको गाउँपालिका हो । लिम्बू र राई जातिको सघन बसोबास रहेको यस पालिकामा विभिन्न धार्मिक, साँस्कतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरु रहेका छन् । यो भूमि नेपालको १६औं राष्ट्रिय विभूति समाजसुधारक, किरात धर्म दर्शनका प्रवर्तक महागुरु फाल्गुनन्दको जन्म भूमि पनि हो । किरात धर्मका वर्तमान गुरु आत्मनन्द लिङ्देनको जन्मस्थल र हाल उहाँको आश्रम लारुम्बा क्षेत्र विश्वभरका किरात धर्मावलम्बीका लागि पवित्र आस्थाको केन्द्रका रूपमा रहेको छ । त्यस्तै प्रसिद्ध तीर्थस्थलहरु गजुरमूखी, माङमालुङ लगायत सूर्योदयको डाँडा तीनथुम्की सहितका पर्यटकीय महत्त्वका अनेक स्थानहरु यस पालिकामा पर्दछन् । जसमध्ये एउटा माङसेबुङ–३ (साविक इभाङ ६) विरेन्द्र चोकमा रहेको गिद्धभिर हो ।

गिद्ध भिरबाट देखिएको माइखोला र पवित्र धार्मिक स्थल लारुम्बा । फोटो: सकुन राई

२. गिद्धेभिरको परिचय:
समुन्द्र सतह भन्दा लगभग १४ सय मिटरको उचाइमा रहेको यो अग्लो र भिरालो पहाडी भेगको गिद्धभिर प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यो भीरमा परापूर्वकालदेखि गिद्धको बसोबास रहेको हुनाले पनि यसको नाम गिद्धभिर हुन गएको हो । गिद्धभिरको पुरानो चिनारी भनेकै यस स्थानमा गिद्धको बासस्थान रहनु हो । गिद्धलाई स्वच्छ वातावरणीय पंक्षीको रुपमा चित्रण गरिएको छ । विभिन्न अध्ययनअनुसार गिद्धले मरेको जनावरहरु खाने हुँदा प्राकृतिक सरसफाइ गरी रोग प्रणाली सन्तुलन गर्न मद्दत पुर्याउने गर्दछ । गिद्धभिर गिद्ध बसेका कारणले नामाकरण हुन गए पनि यो स्थानको भौगोलिक बनोट अनुसार यहाँ सहासिक पर्यटनसँग सम्बन्धित प्याराग्याइडिङ, रक क्लाइम्बिङ जस्ता परियोजनालाई जोड्न सकिने सम्भावना रहेको छ । साथै, यहाँबाट माई खोलाको मनमोहक दृश्यसँगै इलामको माई नगरपालिका, चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, पाँचथरको राँके रवि क्षेत्र देख्न सकिन्छ । त्यस्तै माङमालुङ, देउराली, खराने थुम्कीलगायत झापा र मोरङका समथल भूभाग र शहरहरु देख्न सकिन्छ भने सुनसरी जिल्ला समेत केही भाग देख्न सकिन्छ । यसका साथै यहाँबाट कुम्भकर्ण हिमाल र विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा देख्न सकिन्छ ।

प्राकृतिक, जैविक विविधता र सांस्कृतिक पक्षका कारण विशेष रहेको गिद्धभिर पुग्न झापाको दमकबाट दमक–रवि–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) हुँदै चतुरे बजारबाट पाँच सय मिटर पूर्व दक्षिण जानु पर्दछ । निर्माणाधीन राँके–रवी–भेडेटार सडक अन्तर्गत पञ्चमी बजारबाट चतुरे हुँदै जान सकिन्छ भने इलाम–मंगलबारे–गजुरमुखी, इभाङ–चतुरे सडक र चतुरे–फुलुङ्गी सडकमार्फत समेत यहाँ पुग्न सकिन्छ । उच्च पर्यटकीय सम्भावना बोकेको यो क्षेत्र प्रचार–प्रसारको अभावमा ओझेलमा रहेको छ । गिद्ध भिर अहिले भने गिद्धेभिर भनेर आम मानिसको जन जिब्रोमा झुण्डिएको छ ।

३. गिद्ध बारे पूर्वचर्चा:

नेपालमा पाइने गिद्ध मध्येको एक सानो खैरो जातको गिद्ध

हिमाल खबरमा ‘गिद्ध संरक्षणको नेपाली गाथा’ शीर्षकमा करुण देवानले लेख्नुभएको छ –‘वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका अहम् छ । गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, रेविज, प्लेग, हैजा, आउँ र पशु चौपायहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्छ’, (देवान, २०७७) ।

गिद्ध बारेको रातोपाटीमा प्रकाशित प्रकाश भट्टराईको ‘यस कारण जोगाउनै पर्छ गिद्ध’ शीर्षकको लेखमा भनिएको छ, ‘नेपालमा पनि सन् १९८० को दशकमा अनुमानित १० देखि १६ लाखको संख्यामा रहेका गिद्ध ९० प्रतिशत भन्दा बढीले घटेर २० हजार भन्दा कममा सीमित भएको छ । नेपालमा पाईने नौ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अतिसङ्कटापन्न, एक प्रजातिलाई सङ्कटापन्न र तीन प्रजातिलाई सङ्कटको नजिक सूचीमा राखेको छ’ (भट्टराई, २०७९) ।

नेपाल सरकारले ‘नेपालमा गिद्ध संरक्षणका लागि पञ्चवर्षीय गिद्ध संरक्षण कार्ययोजना’ बनाएको छ । २०७२ साल साउन १५ गते जारी सरकारी कार्ययोजना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध संरक्षण प्रजनन केन्द्र स्थापना गरेको, गिद्धको सुरक्षित खाना र उपयुक्त वासस्थानको संरक्षण मार्फत गिद्धको संख्या वृद्धि गर्ने सरकारी योजनामा उल्लेख छ ।

एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग र्पुयाउने देखाउँछ । बौद्ध धर्मका अनुयायीहरु गिद्धलाई आत्मा उद्वारको सहायकका रुपमा मान्ने गर्छन् ।

नेपाल पक्षी संरक्षण संघका अनुसार १ वर्ष अघिसम्म नेपालमा पाँच लाख र भारतमा १६ करोड गिद्ध थिए ।विगत १ वर्षयता नेपाल लगायत दक्षिण एसियामा ५ प्रतिशतभन्दा पनि धेरै गिद्ध लोप भएको तथ्याङ्कले देखाउछ । संरक्षणमा ध्यान नदिए बाँकी भएका गिद्धहरू सबै लोप भएर जाने सम्भावना रहेको छ ।

४. गिद्धभिरमा गिद्ध र अन्य सम्भावना:
गिद्धभिरको बारेमा स्थानीय शिक्षक पर्वत राईको स्मरण छ –‘हामी सानो छँदा यो भिर हाम्रो गोठालो गर्ने ठाउँ थियो । त्यसबेला धेरै गिद्धहरु आउने गर्थे । गोठाला जाँदा हाम्रो भैंसी भिरबाट लडिमर्यो र कुटाई खाइयो । त्यसरी मर्ने जनावरको सिनो खान नै गिद्ध यस ठाउँ बस्ने गर्दथ्यो’। (कुराकानीमा आधारित)

गिद्धभिर बाट गिद्ध उडेर जाने डाँडा, लाक्तापा डाँडाको बाटो। फोटो: भूमिका फियाक

माङसेबुङ-३ का पूर्व वडा अध्यक्ष मैतराज राई गिद्ध संरक्षणमा जोड दिनु पर्ने बताउनु हुन्छ । उहाँका अनुसार यस ठाउँलाई पहिला नामबुके डाँडा भन्ने चलन थियो । यहाँ एउटा पुरानो ढुङ्गा र माटोबाट निर्माण गरिएको चौतारो छ जुन अहिले झोर जङ्गलले पुरिएको छ । जहाँ मानिसहरु शितल हावा खाने गर्थे । पहिले ठुलठूला सौउरको रुखहरुमा गिद्ध बाँस बस्ने गर्थे । अहिले पनि गिद्धभिरबाट चतुरे बजार माथि लगभग २० फुटको उचाइमा २५,३० को संख्यामा बिहान गिद्धहरु लाक्तापा डाँडा हुदै उडेर जाने गर्दछ । वन फडानी र आहारको अभावले गिद्धहरु बाँस बस्न छाडिसकेको छ तर अहिले पनि गिद्ध भिरमा गिद्धहरु आराम भने गर्ने गर्दछ ।(कुराकानीमा आधारित)

स्थानीय बासिन्दा ६५ वर्षीय चित्र बहादुर सुनुवार भन्नुहुन्छ -‘पहिले यो ठाउँ मानिसहरुको आवतजावत गर्ने बाटोको रुपमा मात्र प्रयोगमा थियो । उकालो हिड्दा थाकेका बटुवाहरु ठूलठूला ढुङ्गाहरुमा थकाइ मार्ने गर्दथ्यो । चैत वैशाखमा प्राय देखिने गिद्ध यस क्षेत्रमा धेरै बस्ने हुँदा युवाहरु त्यसलाई ढुङ्गाले हान्ने, समाउन खोज्ने जस्ता हर्कत गर्दथ्यो । तर अहिले समय बदलिएको छ । मानिसहरुमा गिद्ध संरक्षण सम्बन्धी ज्ञान पलाउन थालेको छ ।’ (कुराकानीमा आधारित)

खोगी निवासी बृद्धा सोममाया राई आफ्नो कुरा यसरी राख्नुहुन्छ-‘खै पहिले त यो ठाउँ केही होइन जस्तो लाग्थ्यो । गिद्धहरु उडेको देखेको, कति धेरै थियो । डर पनि पो लाग्थ्यो । अहिले धेरैले यो ठाउँ र गिद्धको बारेमा सोध्छ, अचम्म पो लाग्छ । सबैले अब यो ठाउँ राम्रो हुन्छ है भन्दैछ । लु राम्रो होस ।'(कुराकानीमा आधारित)

स्थानीय युवा व्यवसायीहरुको समूहले भने गिद्धभिरलाई फन पार्कको रुपमा विकास गर्ने योजना बुनेका छन् । स्थानीय फोमी होटलका सञ्चालक व्यवसायी रोशन राईका अनुसार यहाँ सहासिक पर्यटन र रिसोर्टको अवधारणाअनुसार आफूले केही काम गर्न खोजेको बताउनु हुन्छ । ‘हामीले टिम नै बनाएर काम गर्न खोजेका थियौ । केही जमिन किन्यौँ पनि । सम्याउने र बाटो खन्ने जस्ता काम गर्दागर्दै कोभिड आयो । कोभिडपछि यो ठाउँमा लगानी गर्ने कि नगर्ने ? भन्नेमा स्पष्ट हुन सकेनौँ । योजनाहरु थाँती नै रहेका छन्’, (कुराकानीमा आधारित) ।

गिद्धभिर नजिकै रहेको नवमी डाँडाबाट देखिएको कुम्भकर्ण र कञ्चनजङ्घाको सुन्दर दृश्य 

माङसेबुङ वडा नम्बर ३ का वडा अध्यक्ष लक्षुमन राई जनमले यस ठाउँमा सहासिक पर्यटनको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्नु पर्ने बतानु भयो । ‘निजी क्षेत्रसँग सहकार्य गरेर स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पनि यस्ता सम्भावित क्षेत्रमा लगानी गर्नु पर्दछ’, (कुराकानीमा आधारित) । यस ठाउँमा केही व्यवसायीहरुको समूहले कोभिड आउनु भन्दा अगाडि फनपार्कको अवधारणा अनुसार बाटो खन्ने र भौतिक निर्माणका केही काम गरेका छन् । त्यहाँ खानेपानीको पहुँच पुर्याउने र शौचालय निर्माण गर्ने, भिरालो जग्गालाई सम्याउने कार्य भएका देखिन्छन् ।

गिद्ध भिरमा गएर स्थानीयसँग जानकारी लिदै पत्रकारहरु

४.१. गिद्धभिरको विकासमा निम्न कुराहरुले सहयोग पुर्याउने देखिन्छ:
१) पंक्षी अवलोकन –यस ठाउँलाई पंक्षी अवलोकन गर्ने ठाउँको रुपमा विकास गर्न सकिन्छ । यहाँ गिद्ध मात्र नभएर अन्य चराहरु ढुकुर, काग, गौथली, लाटकोसेरो लगायत देख्न सकिन्छ ।

२) प्राकृतिक सौन्दर्य –यो भिर अग्लो, भिरालो डाँडाको टुप्पोमा अवस्थित छ । यहाँबाट पूर्वी नेपालका विभिन्न ठाउँहरु हरियाली वन, हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

तस्बिरमा माइखोला । फोटो: सकुन राई 

३) साँस्कृतिक पर्यटन –यस क्षेत्रमा विभिन्न जाति, धर्म, पेशाका मानिसहरुको बसोबास रहेको छ । जसको कारण यस क्षेत्रमा आउने पर्यटकहरुलाई आफ्नो संस्कार र साँस्कृतिकले स्वागत गर्न सकिन्छ । यसबाट साँस्कृतिक आदान–प्रदान गर्न, लोक नृत्य, लोक बाजा, खानपान, पोशाक, हस्तकलाको बिक्री वितरणबाट आया आर्जन गर्न सकिन्छ ।

४) सिकाइ केन्द्र –गिद्ध संरक्षणमा लागेका अनुसन्धानकर्ता, विद्यार्थी र वातावरणप्रेमीहरुका लागि यो क्षेत्रलाई सिकाइ केन्द्रको रुपमा विकास गर्न सकिन्छ ।

५) स्थानीय उत्पादनको प्रवर्धन –यहाँ आउने पर्यटकको बृद्धिसँगै स्थानीय उत्पादनहरु फलफूल, कफी साथै यहाँ उत्पादित अदुवा, अम्लिसो, अलैँचीलगायत बाँसका सामग्रीहरुको बजार प्रवर्धनमा टेवा पुग्ने देखिन्छ ।

६) होमस्टे सञ्चालन –यस क्षेत्रमा स्थानीय बासिन्दाहरुले होमस्टे सेवा सुरु गरेमा पर्यटकको संख्यामा बृद्धि हुन सक्छ, जसले स्थानीयवासीको जिविकोपार्जनमा सहजता ल्याउने देखिन्छ ।

७) साहसिक खेलको आकर्षण –बलियो चट्टानी भिर भएको कारणले यहाँ रक क्लाइम्बिङको बलियो सम्भावना देखिन्छ, जसलाई सहासिक खेलको रुपमा विकास गर्न सकिन्छ । त्यसैगरी, वरिपरिका अन्य डाँडाहरुसँग जोडेर यहाँबाट सहासिक खेल जिपलाइन सञ्चालन गर्न सकिन्छ । प्याराग्याइडिङ, साइक्लिङ, हाइड्रोलिक स्विङ जस्ता खेलहरु सञ्चालन गर्न सकिन्छ ।

५. सम्भावित नतिजा:
यस क्षेत्रलाई पर्यटनसँग जोडेर विकास गर्न सके नयाँ पर्यटकीय गन्तव्य थपिन सक्छ । जस कारण पर्यटक आगमनमा बृद्धि भई स्थानीयवासीका निम्ति रोजगारी सिर्जना हुने र आयआर्जनसहित आम्दानीको स्रोत बढ्न सक्छ । यसका साथै गिद्धको उचित संरक्षण गर्न सकिन्छ, जसको पर्यावरणीय र वातावरणीय फाइदा अधिक रहेको छ ।

६. निष्कर्ष र सुझाव:
गिद्धभिरलाई पर्यटकीय गन्तव्यको रुपमा प्रवर्धन र विकास गर्न सके स्थानीय क्षेत्रमा आर्थिक बृद्धि हुने पक्का छ । यो एक नयाँ गन्तव्यको रुपमा स्थापित भई माङसेबुङको मात्र होइन, समग्र इलाम र नेपालकै गौरवको रुपमा परिचित हुन सक्छ । यस क्षेत्रमा पदमार्ग, विश्रामस्थल लगायत आवश्यक पूर्वाधार विकास र सहासिक खेललाई सुरुवात गर्नुपर्ने देखिन्छ । गिद्ध संरक्षण कार्यक्रममा स्थानीय जनसहभागिता अनिवार्य गरिनु पर्दछ । जसमा स्थानीय लगायत तीनै तहका सरकारले विशेष जोड दिनु पर्दछ । त्यसका निम्ति यहाँका गिद्ध बारे वैज्ञानिक अध्ययन आवश्यक छ । माथिका कार्यहरुका अतिरिक्त प्रचार प्रसारमा विशेष ध्यान पुर्याउन जरुरी छ । गिद्ध र गिद्धेभिरको बारेमा विभिन्न सञ्चार माध्यमहरुबाट बढी भन्दा बढी प्रचार गर्ने तथा यसको संरक्षणका लागि आवाज र दवाव सिर्जना गर्न सकिन्छ । स्थानीयस्तरमा आयोजना गरिने विभिन्न खेलकुद, मेला, महोत्सवहरुमा पनि गिद्ध संरक्षण र गिद्धेभिर बारे प्रचार गर्न सकिन्छ ।

सन्दर्भ स्रोत:
देवान, करुण (२०७७) । ‘गिद्ध संरक्षणको नेपाली गाथा’, हिमाल खबर (२० भदौ, शनिबार)
भट्टराई, प्रकाश (२०७९) । ‘यसकारण जोगाउनै पर्छ गिद्ध’, रातोपाटी (१६ चैत, बिहीबार)
नेपाल सरकार (२०७२) । ‘नेपालमा गिद्ध संरक्षणका लागि पञ्चवर्षीय गिद्ध संरक्षण कार्ययोजना’, वन तथा भू संरक्षण मन्त्रालय ।
माङसेबुङ गाउँपालिकाको बेवसाइट ।

कुराकानी:
१. लक्षुमन राई जनम –वडा अध्यक्ष, माङसेबुङ ३ (२०८२/०२/०९)
२. रोशन राई, स्थानीय व्यवसायी (२०८२/०१/२५)
३. पर्वत राई, स्थानीय शिक्षक (२०८२/०२/०४)
४. चित्र बहादुर सुनुवार, स्थानीय वृद्ध (२०८२/०२/०४)
५. सोम माया राई, स्थानीय वृद्धा( २०८२/०२/०५)
६. मैतराज राई-पूर्व वडा अध्यक्ष, माङसेबुङ ३ (२०८२/०२/१०)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु