अठियाबारी– धिमालहरुको महान पर्व जात्री (मेला) उर्लाबारी–६ स्थित अठियाबारीका धिमाल समुदायहरु विच विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपमा समापन भएको छ । स्थानीयबासीहरुको भनाई अनुसार धिमालहरुको मुख्य पर्वको रुपमा मनाईने जात्री (मेला) लाई ढङढङगे मेला पनि भनेर चिनिन्छ । २५ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रममा “सँस्कृती, परम्परा र भेषभुषाको जगेर्ना गर्दै, सभ्य समाजको निर्माण गरौँ” भन्ने मुल नाराका साथ अठियावारी धिमाल टोल समितिको मुख्य प्रायोजनमा सञ्चालन भएको थियो ।
वृहत साँस्कृतिक तथा धिमाल नृत्य प्रतियोगिताको समेत आयोजना रहेको कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेर धिमाल जातीहरुको भेषभुषामा सजिएर आएका टोलीहरु वीच प्रतिस्पर्दा भएकोे थियो, जसमा प्रथम, द्वितीय र तृतीय गरेर ३ वटा विद्यामा पुरस्कार राखिएको थियो । उक्त कार्यक्रमको अवसर पारेर विभिन्न ठाउँहरुबाट धिमाल ढोल नृत्य प्रदर्शन गरिएको थियो । स्थानीयहरुको वृहत उपस्थिती सहित आफ्नो मौलिक परम्परा अनुसार धिमालहरुको ग्राम थानमा धिमाल परम्परा अनुसार प्रत्येक वर्ष पुजाआज गरी मनाईने गरिन्छ । जात्री मेलाको अवसर पारेर आफ्नो आफन्तजन भेटघाट गर्ने र अविवाहित रहेको धिमाल केटाकेटीले मन परापर गर्ने समेत महत्व बोकेको यस जात्रीमा पानको धेरै महत्व रहेको हुन्छ ।
आफुले मन पराएको केटीलाई पान खुवाउने र केटीले पनि पान किनेर केटालाई दिएमा विवाहको लागि स्वीकृती पाएको बुझिन्छ । जात्री मेलामा धिमाल जातीहरुको खानाको विभिन्न परिकारहरु समेत राखिएको थियो ।