साथीहरु भेट भएर कफी पिउँदै घन्टौं गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै नभएर साना शहरमा पनि उत्तीकै देखिन्छ ।
त्यती मात्र होइन, दुनियाँ मा कैयौ यस्ता मानिसहरु छन् जो बिहान उठेपछी एक कप कफि नपिइकन आफ्नो दैनिकी सुरुवात नै गर्दैनन् ।
ति मानिसहरु भन्ने गर्छन् – कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्ने गरेको छ । र यस्ता कैयौं अनुसन्धानहरु पनि छन् जसले स्वास्थ्यको लागि कफी राम्रो भएको तथ्य पत्ता लगाएका छन ।
कफीले गर्दा हुने यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा त हामी सबै जानकार नै छौं । तर स्वास्थ्यको लागि कफी कति महत्वपूर्ण छ ? कफीको सेवनले गर्दा हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ ? यस बारेमा भने सबैलाई थाहा नहुन पनि सक्छ ।
कफी पिउदा दिनमा तीन देखि चार कप पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मान्यता छ । अनुसन्धानकर्ता हरुको अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुने बताएका छन । कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खानु भयो भने त्यस बाट तपाईले कफीबाट पाउने फाइदालाई कम गरिदिन्छ ।
कफी तपाईको स्वास्थ्यको लागि कति फाइदाजनक छ त? अनुसन्धानकर्ताहरुले पता लगाएका कफी सम्बन्धी केही उपयोगी कुराहरु यसप्रकार रहेका छन्:
-हालसालै गरिएको एक अध्ययन अनुसार हरेक कप कफीले तपाईलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।
-कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुनसक्छ ।
-कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा भने कफीले कति राम्रो गर्छ भन्ने चैं अहिलेनै पक्का रुपमा भन्न सकिँदैन् ।
-यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो समय बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।
यस आधारमा भन्न सकिन्छ, कफीले तपाईलाई काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसले तपाईलाई स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा गर्छ ।
तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने पनि छैन । फेरी एक अध्ययनले के पनि देखाएको छ भने नियमित रुपमा कफिको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याकको खतरा पनि हुन सक्ने देखाएको छ ।