बिहीबारबाट भारतसँग नयाँ हवाई रुटका लागि छलफल सुरु हुँदैछ । त्यसका लागि एयरपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपाल आईसकेको छ ।
अब दुई दिनसम्म नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ रुटहरुबारे टुंगो लगाउने, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् ।
नेपालमा अहिले चीन बाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट माग गरेको छ ।
‘यो वार्तामा मुख्य गरी महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको रुटबारे छलफल हुनेछ’। लामिछानेले भने, ‘भैरहवा र विराटनगरबाट पनि विमान नेपाल प्रवेश गर्न दिने प्रस्ताव राख्नेछौ ।’
अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथा माथिबाट आउने गएको छ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब, अन्य देशबाट आउने विमानलाई सिमराबाहेक अन्य प्रस्थानविन्दु दिन भारतसँग छलफल गर्न लागिएको हो ।
यसअघि सन् २०१० र २०१६ मा यस खालको छलफल भएको थियो । तर, यसअघिका छलफलहरु टुंगोमा पुग्न सकेको थिएन । सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन मानेको छैन। भारतको भनाइ अनुसार, विभिन्न बोर्डरमा सैनिक क्याम्प रहेको र त्यहाँको सुरक्षामा अप्ठेरो पर्ने गरेको छ ।
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ हवाई रुटहरु दिने सहमति जनाएका छन् । भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५/७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तरार्ष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अब भारतसँग यी विमानस्थलका लागि रुट माग गर्ने सरकारले योजना बनाएको छ ।