adv
adv

रक्तदान गर्दा फाईदा कि नोक्सान के हुन्छ, रक्तदान गर्नु अघि र पछी ध्यान दिनुपर्ने कुराहरु –

डा. शंकर गौतम


हामीले सुन्दै आएका छौं, रक्तदान जीवनदान भन्ने कुरा त । रक्तदान गर्नु पुण्यको काम पनि हो । किनभने हामीले दिएको रगतबाट कसैले जीवन प्राप्त गर्छ । तर हामीले रक्तदान गर्दा कस्तो अवस्थामा गर्न सक्छौं, रक्तदान गरिसकेपछी हाम्रो शरीरलाई फाइदा/बेफाइदा के हुन्छ, हामीले रक्तदान गरेको रगत कहाँ,कसरी प्रयोग हुन्छ ? यि कुराहरुमा धेरै को जिज्ञासा हुनसक्छ । हामीले के बुझ्न आवश्यक छ भने रक्तदाननले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन मद्घत मिल्छ । एउटा व्यक्तिको शरीरमा सामान्यतया छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिन्छ । यसको मतलब शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र निकालिएको हुन्छ । त्यसैले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै असर गर्दैन ।

एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिन भित्र उक्त रगत आफै नष्ट भएर जाने गर्छ । र सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो-छिटो रगतको उत्पादन हुने गर्छ ।

जब शरीरमा रगतको कमी हुन्छ, तब शरीरमा रातो रक्तकोषिका कम हुन्छ त्यसैले शरीरले त्यसको परिपूर्ति गर्नु आवश्यक पर्ने हुन्छ । मिर्गौलामा भएका विशेष प्रकारका कोषिका (पेरीटुबुलर कोषिका) ले रगतमा अक्सिजनको अभाव महसुस गरेर एरिरोपोपेटिन नामक प्रोटिन निकाल्छ, जुन रक्तमाध्यमबाट मज्जा (बोनम्यारो) सम्म पुग्ने गर्दछ ।
त्यसपछि मज्जाले स्टेम कोषिका निर्माण गरी विभिन्न प्रकारका कोषिका निर्माण गर्छ र एरिरोपोपेटिनले स्टेम कोषिकालाई अन्य कोषिका भन्दा अझ बढी रक्त कोषिका निर्माण गर्न लगाउँछ ।

यसरी शरीरमा उत्पादन हुने रगत विभिन्न ए, बी, एबी, ओ लगायतका रक्तसमूहमा विभाजित हुन्छ । कुनै पनि व्यक्तिले रगत दान गर्दा उनीहरुको रक्तसमूह कुन हो त्यही अनुसार त्यसको वर्गीकरण गरिन्छ ।
रक्तसमूह जे जस्तो भएपनि रक्तदान गर्नु भन्दा अघाडी रक्तदाताहरुले केही कुराहरुमा ध्यान दिन भने आवश्यक छ ।

* रक्तदान गर्नु अघि विभिन्न कुराहरुमा ध्यान दिन जरुरी छ । जुन यस प्रकार रहेको छ –

– सात्विक भोजन गर्ने,
– कसैको बारेमा नराम्रो नसोच्ने (सात्विक मन गर्ने)
– तनावमा रहित बन्ने
– रिल्याक्स भएर बस्ने
– रक्त दान गर्नु भन्दा २४ घण्टा अगाडि तथा रक्तदान गरेको २४ घण्टासम्म धुम्रपान तथा मदिरापान नगर्ने
– धेरै बेर नउभिने, आराम गर्ने
– चिनी मिसाएको झोलिलो पदार्थको सेवन अत्यधिक मात्रामा गर्ने
– प्रशस्त मात्रामा जीवनजलको सेवन गर्ने
– दही तथा बेसार मिसाएको खानेकुराको सेवन गर्ने

* रक्तदान गरिसके पछी के नगर्ने त ?
धेरै मानिसहरुलाई रक्तदान गरेको केही समयमै कमजोरी महसुस हुने गरेको पाईेएको छ । जबकी रक्तदान गर्दैमा कमजोरी महसुस हुने भने होईन । जब रक्तदान गरिन्छ, रक्तदान गरे लगत्तै शरीरमा हेमोग्लोबिनको मात्रा कम हुने गर्छ । शरीरमा हेमोग्लोबिनको मात्रा कम हुनासाथ शरीरमा अक्सिजनको मात्रा आफै कम भएर जान्छ । र, मानिसलाई रिङ्गटा लागेजस्तो, झमझम भएजस्तो हुने गर्छ । जुन क्षणिक मात्र हुने हो । त्यसैले, रक्तदान गरे लगत्तै व्यक्तिलाई जुरुक्क नउठ्न सल्लाह दिईन्छ । साथै, प्रशस्त मात्रामा फलफूलको जुस, जीवनजल लगायतका झोलिलो पदार्थ सेवन गर्न र रक्तदान गरेको कम्तीमा १५ देखि २० मिनेटसम्म आराम गर्ने सल्लाह समेत दिने गरिन्छ ।

* रक्तदान गर्ने व्यक्तिलाई कमजोरी महसुस किन हुन्छ ?

जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरीट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस हुन थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । उक्त प्रोटिन रगतमार्फत बोनम्यारोसम्म पुग्दछ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्छ ।
एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रातो रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रमा एउटा व्यक्तिको शरीरमा फेरि रगत निर्माण भैसक्छ । तबसम्म व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ ।

 

* रक्तदान गर्नु अघाडी वा गरिसकेपछी के खाने ?

– प्रशस्त मात्रामा सागसब्जी खाने ।
– आइरन धेरै पाईने खानेकुरामा बढी जोड दिने ।
– भिटामिन बी १२ युक्त खानेकुराको सेवन गर्ने ।
– अनार रगतको राम्रो स्रोत हो, त्यसैले बढी भन्दा बढी मात्रामा अनारको सेवन गर्ने
– अमला लगायतका भिटामिन सी युक्त खानेकुरा बढी खाने ।
– आयुर्वेदमा आधारित रक्तवर्धक औषधीको सेवन गर्नु पनि राम्रो मानिन्छ ।

 

* कस्तो अवस्थामा रक्तदान गर्नु हुँदैन ?

एक पटक रक्तदान गरेपछि तीन महिना नहुञ्जेल फेरि रक्तदान गर्नु हुदैन । १८ वर्षभन्दा कम उमेरका तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरुमा महिनावारी भईरहेको अवस्थामा, गर्भवती भएमा, व्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने , चक्कर हुने वा बेहोस हुने समस्या भएमा पनि रक्तदान गर्नु हुँदैन ।

त्यस्तै, उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा, कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण भएमा, टाइफाइड, जण्डिस, सामान्य ज्वरो लगायतको संक्रमण भएमा, कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, मुटुको भल्भको शल्यक्रिया गरेमा, व्यक्तिको तौल ४५ केजीभन्दा माथि छ तर पनि रगत चाप घटबढ भएमा, धुमपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा रक्तदान नगर्न सल्लाह दिइने गरिएको छ ।

त्यसैगरि, हेभी एक्सरसाइज गर्नेलाई पनि एक्सरसाइज गरेको कम्तीमा १-२ घण्टासम्म रक्तदान नगर्न सल्लाह दिईने गरिएको छ ।

(डा. शंकर गौतम, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका सदस्य एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुस्ताङ्गमा आयुर्वेद चिकित्सकको रुपमा कार्यरत ।)

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु