नेपाल कम्युनिस्ट पार्टीको बिधान र नियमावली सम्पादन सहित अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । संयोजक महासचिव बिष्णु पौडेल तथा सदस्य देवप्रसाद गुरूङ, बेदुराम भुसाल र खिमलाल देवकोटा रहेको नियमावली मस्यौदा कमिटीले ११ अनुच्छेद र ३३ दफा सहितको पार्टी सन्चालन नियमावली विहिवार बुझाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयलाई निमायवली बुझाइएको र सो निमायवली बिधानको ब्याख्या सहित दिइएको मस्यौदा कमिटीका सदस्य तथा नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।
नियमावलीले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रमा ३२ वटा बिभाग रहने व्यवस्था गरिएको छ । बिभागमा प्रमुख, उपप्रमुख र सचिव गरि ३५ सदस्य रहनेछन् । प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीबाट तोकिनेछन् भने सचिव बिभागका सदस्यले चयन गर्ने व्यवस्था मिलाईेको छ ।
त्यस्तै प्रदेश कमिटीका बिभागहरुमा १५ र जिल्लाका बिभागमा ११ सदस्य रहने व्यवस्था गरिएको भुसालले जानकारी दिए ।
भातृ संगठनहरुको समन्वय गर्न मोर्चा संगठन बन्ने भएको छ भने सम्पर्क मन्चहरुको समन्वय गर्न सम्पर्क समन्वय कमिटी गठन हुने भएको छ ।
त्यस्तै प्रवास कमिटीले प्रवासमा रहेका प्रवासी मञ्चहरुको संयोजन र त्यहाँ कार्यरत सदस्यहरुको बरियता निर्धारण गर्नेछ । तर प्रवासमा पार्टीका कमिटी बनेमा गठन नगरिने नियमावलीमा उल्लेख गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सदस्यता नविकरण प्रत्येक वर्षको फागुन र चैतमा गर्नुपर्ने र पार्टी एकीकरण भएको यो वर्ष ६ महिना भित्र नविकरण गरिसक्ने उल्लेख छ । नेकपाका दुई प्रकारका सदस्य हुनेछन् ।
साधारण सदस्यको सदस्यता शुल्क २० रुपैया र संगठित सदस्यको १०० रुपैया मासिक कायम गरिएको छ ।