दमक, ८ असार ।
दमक–८ स्थित रोजिएट ब्राईट इङलिस स्कुलले एकेडेमिक पुरस्कार वितरण कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरी मनाएका छन् । स्कुलका प्रिन्सिपल रुद्रप्रसाद दाहाल ज्यूले राष्ट्रिय गानसँगै औपचारिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो साथै साँस्कृतिक कार्यक्रम स्कुलका शिक्षिकाले सञ्चालन गर्नु भएको थियो ।
स्कुल व्यवस्थापन अध्यक्ष तथा समाजसेवी रेगिना भट्टराई प्रसाई ज्यूले कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएको थियो । प्याप्सन क्षेत्र नं. ७ का संयोजक जनार्दन मैनाली ज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा झापा प्यापसन कमिटिका सदस्य सन्तोष दाहाल ज्यू र दमक आदर्शका प्रिन्सिपल सूर्यबहादुर कटुवालज्यू अतिथि रहनु भएको थियो । प्रमुख अतिथि तथा अतिथिहरुले कार्यक्रमलाई सम्बोधन गर्दै छात्रछात्राहरुलाई आगामी दिनहरुमा सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिनु भएको थियो ।
अभिभावकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा स्कुलका छात्रछात्राहरुले नृत्य, गायन, कविता जस्ता प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।
कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका छात्रछात्राहरुलाई शैक्षिकसत्र २०७४ को एकेडेमिक पुरस्कार तथा विभिन्न विद्यामा उत्कृष्ट हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिज्यूहरुद्वारा पुरस्कार वितरण गरिएको थियो ।