adv

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिल, कोस्टारिकासँगको नतिजा कस्तो होला ?

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिल नेपाली समय अनुसार शुक्रबार बेलुका पौने ६ बजे कोस्टारिकासँग खेल्दैछ । कोस्टारिका पहिलो खेलमा सर्बियासँग १-० ले पराजित भएको थियो ।

ब्राजिल टिमका मुख्य सदस्य नेइमार घाइते रहेको भनिए पनि फिट छन् । तर, ड्यानिलो अभ्यासका क्रममा घाइते भएकाले उनको स्थानमा फागनरलाई खेलाइँदै छ ।
कोस्टारिका पनि स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा छ । उसका सबै खेलाडी फिट छन् ।

विश्वकप समूह ‘ई’ मा रहेको दाबेदार टिम ब्राजिल पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएपछि कोस्टारिकासँगको खेलको महत्व बढेको छ । पहिलो खेल हारेको कोस्टारिकालाई पनि अघिल्लो चरणमा जान ब्राजिललाई स्तब्ध पार्नुपर्ने दबाब छ ।
ब्राजिलले विश्वकपको समूह चरणमा पछिल्लो १३ खेल हारेको छैन । जसमा १० खेल जितेको छ भने तीन खेल बराबरी गरेको छ । ब्राजिल सन् १९८२ पछिका सबै विश्वकपमा समूह विजेता बनेर अघिल्लो चरण पुगेको इतिहास छ ।

यसपटक ब्राजिल टिमको सपना विश्वकप जित्ने मात्रै होइन । चार वर्षअघि गुमेको फुटबल सम्मान फर्काउने पनि छ । रसिया यसका लागि विश्वकपका हरेक खेलमा महत्वपूर्ण बनेको छ । प्रशिक्षक टिटेले जिम्मेवारी लिएदेखि ब्राजिलको टिममा भरोसा फर्किएको पनि छ । टिटे सन् २०१६ को जुनमा ब्राजिलको जिम्मेवारी लिन आएका हुन् ।

उनले जिम्मेवारी सुरु गर्ने बेला दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट तालिकामा ब्राजिल छैटौं स्थानमा थियो । तर त्यसपछिका लगातार ९ खेलमा जित निकाल्दै ब्राजिल विश्वकपमा छनोट हुने पहिलो टिम बनेको थियो ।

ब्राजिलियन टिममा मिडफिल्ड र फरवार्ड लाइन निकै बलियो देखिन्छ । जस्तोसुकै डिफेन्सलाई पनि चिर्न सक्ने क्षमता ब्राजिलियन खेलाडीमा देखिन्छ । यसैले पनि रसिया विश्वकपको प्रमुख दाबेदारको रुपमा ब्राजिललाई हेरिएको हो ।

पाँच पटकको विश्व विजेता ब्राजिलले अहिलेसम्म २० पटक विश्वकप खेलेको छ । सन् १९३० मा पहिलो विश्वकपमा सहभागी भएर ब्राजिलले विश्वकप यात्रा सुरु गरेको थियो ।

ब्राजिलले कोस्टारिकासँगको पछिल्लो १० खेलमा ९ खेल जितेको छ । ब्राजिलले कोस्टारिकासँग सन् १९६० को मार्चमा भएको मैत्रीपूर्ण खेल हारेको थियो ।

विश्वकपमा ब्राजिल र कोस्टारिकाबीच भेट भएको यो तेस्रो पटक हो । यसअघि १९९० को विश्वकपमा १-० ले २००२ को विश्वकपमा ५-२ ले ब्राजिल विजयी भएको थियो ।

कोस्टारिकाको यो पाँचौ विश्वकप हो । सन् १९९० मा पहिलोपटक विश्वकप खेल्दा नै कोस्टारिका अन्तिम १६ सम्म पुगेको थियो ।

विगतलाई हेर्दा र वर्तमान टोलीलाई नियाल्दा पनि कोस्टारिका बलियो टोली हो । यसैले ब्राजिलियन टिमलाई कोस्टारिकाविरुद्ध सहज भने हुने छैन ।

कसले के भनेका छन् ?

ब्राजिलियन टिमका मिडफिल्डर फिलिप कोउटिन्होले आफूहरुले अघिल्लो खेलमा भन्दा यसपटक सुधार गर्नुपर्ने बताएका छन् ।

‘स्वीट्जरल्याण्डसँगभन्दा सुधारिएको खेल हामीले खेल्नुपर्छ । हरेक खेल नै फाइनल जस्तो हो । विश्वकपका लागि कुनै खेल सामान्य हुँदैन । सबै टिम राम्रा छन् । हामीले जिम्मेवारी लिएर जिततर्फ अग्रसर हुनुपर्छ । कोस्टारिकासँगको खेल महत्वपूर्ण छ । हामी तीन अंकको खोजीमा छौं’ उनले भने ।

‘हामीले सम्भावनाहरुका बारे कुरा गरेका छौं । तीन अंक ल्याएर अघिल्लो चरण सुरक्षित गर्न चाहन्छौं । हामीले सबै बसेर यही कुरा गरेका छौँ । मैदानमा हुँदा पनि हामी जित्नकै लागि खेल्नेछौं ।’

यस्तै कोस्टारिकाका कप्तान ब्रायन रुइजले आफूहरुले ब्राजिलविरुद्ध स्वीट्जरल्याण्डकै शैली अपनाउने बताएका छन् ।

‘स्वीट्जरल्याण्डले ब्राजिलविरुद्ध मिडफिल्डबाट निकै राम्रो खेले । यसैले उनीहरुलाई मिडफिल्डमै रोक्ने स्वीट्जरल्याण्डको शैली राम्रो थियो । हामी पनि त्यही गर्नेछौं । किनभने मिडफिल्डबाट अगाडि राम्ररी बढ्यो भने ब्राजिलियन टिमलाई रोक्न सहज हुँदैन’ उनले भने ‘ब्राजिलविरुद्ध हामीले बलमा नियन्त्रण बनाएर बल खोस्न सक्नुपर्छ र काउन्टर अट्याकमा बढिहाल्नुपर्छ ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु