हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि १ अर्ब ६३ करोड चार लाख ५७ हजार बजेट ल्याएको छ ।
कुल बजेटको १० दशमलब १८ प्रतिशत अर्थात १६ करोड ५९ लाख ६४ हजार रुपैयाँ मात्र प्रशासनिक खर्च र बाँकी पूँजीगत खर्च रहेको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
बजेटमा वडा स्तरीय आयोजना तथा कार्यक्रमको लागि २० करोड ५० लाख रुपैयाँ, सामाजिक विकास अन्र्तगत ५९ करोड १७ लाख ५६ हजार, पूर्वाधार विकास क्षेत्रतर्फ ३७ करोड ८ लाख ५१ हजार, वातावरण तथा विपद ब्यवस्थापन क्षेत्रतर्फ ७ करोड ३१ लाख ७० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रतर्फ २ करोड १६ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले बहुवर्षीय विभिन्न ठूला आयोजना सञ्चालनका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले आन्तरिक आय १५ करोड ४९ लाख ६९ हजार अनुमान गरेको छ । बजेटमा आउँदो आर्थिक वर्षभित्रै उपमहानगर क्षेत्रमा सबै वडामा सुविधा सम्पन्न भवन निर्माण गर्ने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाले एकल महिलाहरुलाई वाणिज्य तर्फको कारोबारमा तोकिएको कर रकममा ५० प्रतिशत छुट दिने नीति प्रस्ताव गरेको छ ।