चलचित्र क्षेत्रका महंगा अभिनेता अनमोल केसीले पहिलो पटक पारिश्रमिक बिना काम गर्ने भएका छन् ।
देशका चार शहरहरु (बुटवल, पोखरा, चितवन, विर्तामोड)मा हुन लागेको ‘अनमोल साँझ २०१८’ कार्यक्रममा केसीले पारिश्रमिक बिना नै लाइभ प्रस्तुति दिने भएको हो । काठमाडौंको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर कार्यक्रम आयोजक मोनिका इन्टरनेशनल गु्रपले ‘अनमोल साँझ २०१८’ बारे आधिकारीक जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा अनमोल स्वयम् उपस्थित भई कार्यक्रमको उद्देश्य तथा आफ्नो प्रस्तुतिबारे जानकारी गराएका थिए । भदौ ९ गतेबाट सुरु हुने यस कार्यक्रमले आन्तरिक पर्यटन प्रर्बद्धन र कला संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्य लिइएको छ ।
चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुत गर्नेछन् । सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफूले पारिश्रमिक नलिएको अनमोलले बताएका छन् । उनले पहिलो पटक आफ्ना प्रशंसकहरुसँग प्रत्यक्ष भेट्ने अवसर पाउने भन्दै खुशी पनि व्यक्त गरेका छन् ।
अहिलेसम्म आफूले सामाजिक कार्य नगरेको र यो निकै ठूलो अवसर भएको अनमोलको भनाई छ । उनले यो कार्यक्रमलाई आफ्ना प्रशंसकहरुसँग भेट्ने ठूलो अवसरको रुपमा लिएका छन् । यो कार्यक्रम भदौं ९ गते बुटवल, भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र विर्तामोडमा भदौ २७ गते हुने भएको छ । अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ ।
यस कार्यक्रमका लागि अहिलेसम्म अभिनेत्री प्रियंका कार्कीले अनमोलसँग स्टेज शेयर गर्ने तय भएको छ भने अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाको भनाई छ । चारवटै शहरमा मनोरञ्जनात्मक कार्यक्रमको साथमा पर्यटन प्रर्बद्धन हुने, कला संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमहरु तथा शिक्षा मूलक सडक नाटक तथा स्थानीय नयाँ प्रतिभालाई प्रोत्साहन समेत गरिने आयोजक संस्थाका अध्यक्ष कमल जिसीले जानकारी दिएका छ न् ।