दमक, १३ असार ।
बुधबार दमकमा आयोजित तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख ओलीले संविधानमा सबैको हक उल्लेख भएकाले त्यसलाई चिन्न र उपयोग गर्न आदिवासी जनजाती समुदायलाई सुझाव दिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ दमक समन्वय परिषद् र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संयुक्त आयोजनामा सञ्चालन गरिएका विभिन्न तालिमको उद्घाटन गर्ने क्रममा ओलीले भने –‘दमक नगरपालिकाले अब तालिममा सहभागी हुने मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने तालिमलाई मात्रै प्राथमिकता दिन्छ ।’ आदिवासी जनजाति समुदायलाई इगिंत गर्दै प्रमुख ओलीले भने –‘म र हामी किन पछि पर्याैं भनेर आफू भित्र खोज्न सकिएन भने सफल हुँदैनौं । जब हामी आफ्नो कमजोरी खोज्न थाल्छौं, त्यसले परिवर्तनको सुरुवात गर्छ ।’ आदिवासी जनजाति महिलाहरुसँग आफ्नो मौलिक पोशाक तयार गर्ने परम्परागत सीप रहेकाले त्यसको व्यवसायिक विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उनले भने –‘मौलिक पोशाक तयारी गर्न उद्योग खोल्नुस्, नगरपालिका सहयोग गर्न र सहकार्य गर्न तयार छ ।’
दमकका धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरिएको प्रसङ्ग निकाल्दै उनले भने –‘कतिपयले भत्ता दिनुपर्ने कुरा पनि गरेका छन् । तर हामी कसैलाई भत्ता दिने भन्दा पनि आफै सक्षम भएर गरिखान सक्ने बनाउन लागिपरेका छौं ।’
प्रमुख ओलीले नगरपालिका आदिवासी जनजाति समुदायलाई तालिमका लागि सहयोग गर्न सदैव तयार रहेको भन्दै रचनात्मक, सीपमूलक र आयमूलक तालिमका कार्यक्रमहरु ल्याउन सुझाव दिए ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै महासंघका संस्थापक सचिव कमन देवानले आदिवासी जनजाति समुदायलाई दमक नगरपालिकाले गर्ने योजना तर्जुमादेखि सबै रचनात्मक कार्यमा सहभागी हुने वातावरण मिलाउन आग्रह गरे ।
देवानले भने –‘आदिवासी जनजातिहरु विकास विरोधी होइनन् । उनीहरुको सरोकारहरुलाई राज्य पक्षले सम्बोधन नगरिँदिदा वाध्य भएर आन्दोलित बनेका हुन् ।’ उनले स्थानीय सरकारसँग द्वन्द्व गर्न नचाहेको जिकिर गर्दै आदिवासी जनजाति समुदायका संस्कार, संस्कृति, रहनसहन र पहिचानको सुरक्षामा नगरपालिकाले चासो दिनुपर्ने माग गरे । ‘हामी सहमति र सहकार्यबाट अघि बढ्न चाहन्छौं, सँगसँगै पहिचान, प्रतिनिधित्व र पहुँच वृद्धि गर्न पनि आन्दोलित छौं ।’
महासंघका दमक नगर अध्यक्ष गुमानसिंह तामाङले आदिवासी जनजाति समुदायका युवाहरु बेरोजगार रहेकाले कुलतमा फस्नु परेको भन्दै उनीहरुलाई स्वरोजगार बनाउन र सही बाटोमा ल्याउन नगरपालिकामार्फत विभिन्न समयमा रोजगारमूलक तालिम आवश्यक रहेको जिकिर गरे । उनले आगामी दिनमा पनि दमक नगरपालिकामार्फत सहयोग प्राप्त हुने आशा राखेको बताए ।
तालिम उद्घाटन कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ झापाका अध्यक्ष हरिदेवी राई लावती, थारु कल्याणकारिणी सभाका दमक नगर अध्यक्ष तेजनारायण थारु, किरात याक्थुङ चुम्लुङ दमकका अध्यक्ष देबेन्द्र चेम्जोङ, नेवा देय दबुका दमक उपाध्यक्ष राम प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघका दमक नगर सचिव मनिराम धिमालको सञ्चालन रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष ओममाया आङ्देम्बेको रहेको थियो भने अध्यक्ष गुमानसिंह तामाङको अध्यक्षता रहेको थियो ।
बुधबारबाट महासंघको आयोजना र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको सह–आयोजनामा पाँच दिने प्रस्ताव लेखन तालिम, सात दिने उद्घोषण तालिम, १५ दिने सेक्युरिटी तालिम, हाउस वेरिङ र प्लम्बिङ तालिम सुरु भएको हो । तालिमहरुमा दमक नगरपालिकाले तीन लाख रूपैयाँ सहयोग गरेको छ । आधारभूत उद्घोषण व्यक्तित्व विकास तालिममा सहजिकरणका भूमिका समदर्शि टेक्निकल तालिम केन्द्रले गर्ने जनाएको छ ।