दमक, २१ असार l
रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् । बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सीनाको घरपरिवार विस्थापित भएका हुन् । विस्थापित श्रेष्ठको ४ कोठे पक्की घर र तिम्सीनाको दक्षिण तर्फका भाग खोलाले कटान गरेको छ । श्रेष्ठ घरमै किराना पसल सञ्चालन गरिआउनुभएको थियो ।
उहाँले २०४७ सालदेखि बसोवास गरिआएपनि हालसम्म त्यस्तो जोखिम नआएको तर अहिले भने कटानले उठिबाँस गराएको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो,– ‘दुई दिन भयो, बाढीले गर्दा रातभरि जाग्राम बस्नुपरेको छ ।’ कटान झनै बढ्न थालेपछि आजदेखि भने श्रेष्ठ परिवार विस्थापित भएका छन् ।
केहिदिन यता परेको अविरल बर्षाका कारण रतुवा खोला तर्फको बस्तीमा कटान तीव्र बनाएको छ । बर्षाकै कारण त्यहाँको नेपाल रेडक्रस सोसाईटी उपशाखा डुवानमा परेको छ । उपशाखाको कार्यालय भवन जलमग्न हुदाँ जेनेरेटरमा क्षति पुगेको उपशाखा सचिव रमेश गुरागाईले बताउनुभयो ।
वडाध्यक्ष भिम पौडेलका अनुसार बाढीले बस्ती क्षेत्रमा कटान तीव्र बनाएपछि विस्थापितसहित त्यस बस्तीका बसोबास गरिआएका दुई दर्जन बढी घरपरिवार प्रभावित भएका छन् । बढी कटान क्षेत्रमा परेको सो बस्तीको आजनै दमक नगरपालिकाले अवलोकन समेत गरेको छ । अवलोकनमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष पौडेललगायत हुनुहुन्थ्यो ।