स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सानै उमेरमा गर्भपतन गराउने युवतीको संख्या बढ्नु चिन्ताको विषय भएको बताएकी छन् ।
विश्व जनसङ्ख्या दिवसको सन्दर्भ पारेर परिवार नियोजन संघले आज काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री अर्यालले सानै उमेरमा गर्भपतन गराउने युवतीको संख्या बढेकाले यसले समाजमा पार्ने असरबारे छलफल गर्न आवश्यक रहेको बताइन् ।
लिभिङ् टुगेदर र बिहे नगरिकन सन्तान जन्माउन पाउने अधिकारले समाजलाई गलत बाटोतिर पो लैजाने हो कि भन्दै राज्यमन्त्री अर्यालले ‘यो हाम्रो मानव अधिकार हो’ भनेरमात्र सोच्न नहुने बताइन् ।
उनले परिवार नियोजनका साधनको अनियन्त्रित प्रयोगबाट हुन सक्ने समस्याबारे पनि सचेत हुन सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका धनश्याम पोखरेलले बालविवाह र सानै उमेरमा गर्भपतन गराउने प्रवृति निकै डरलाग्दो रुपले देखिएको भन्दै यसलाई रोक्न ठोस कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
सन् १९८९ देखि विश्व जनसंख्या दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष परिवार नियोजन मानव अधिकार भन्ने नारासहित मनाउन लागिएको छ । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ ।
हाल विश्वको जनसंख्या साढे ७ अर्व पुगेको छ ।