यस हप्ताको शुक्रवार आश गरिएका दुई नयाँ फिल्मले प्रदर्शन थालेका छन् । फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि ‘चिँ मुसी चिँ’ र ‘रोमियो एण्ड मुना’ ले बक्सअफिसमा भिडन्त प्रारम्भ गरेका छन् ।
दुवै फिल्म फरक जनराका हुन् । दिनेश श्रेष्ठ निर्देशित ‘चिँ मुसी चिँ’ म्यूजिकल थ्रिलर जनराको फिल्म हो भने नरेश कुमार केसीको ‘रोमियो एण्ड मुना’ ले लभस्टोरी कथा वाचन गर्छ ।
‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।
यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।
अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
यता हिजोबाटै देशभरका हलमा चलचित्र ‘रोमियो एन्ड मुना’ रिलिज भएको छ । नरेश कुमार केसीको निर्देशनमा तयार भएको यो चलचित्रले लभ स्टोरी कथालाई उठान गरेको छ ।
चलचित्रको आज बिहान काठमाण्डौको कुमारी हलमा प्रेश शो समेत आयोजना गरिएको थियो । प्रेस शोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ, सुरक्षा पन्त लगायत पुगेका थिए । चलचित्रले विनय र श्रृष्टीको प्रेमसँगै श्रृष्टीको व्यक्तिगत कथालाई बढी फोकस गरेको छ ।
चलचित्र हेरिसकेपछि पत्रकारबाट पाएको प्रतिक्रियाले उनीहरु उत्साहित देखिएका छन् । चलचित्रको प्रचारका लागि थुप्रै फन्डा अपनाइएको ‘रोमियो एन्ड मुना’को सुरुवाती व्यापार भने औषत छ ।
मल्टिप्लेक्समा चलचित्रको व्यापार सामान्य छ भने सिंगलमा सुरुवात औषत छ । चलचित्र हेर्नेले नायिका श्रृष्टी श्रेष्ठको कामको प्रशंसा गरेका छन् । करिब २ बर्षपछि नेपाली चलचित्रको पर्दामा देखिएकी नायिका श्रेष्ठले आफ्नो भूमिकालाई जिवन्त रुपमा निर्वाहा गरेको प्रतिक्रिया पत्रकारहरुले दिएका थिए ।
चलचित्रको कथावस्तु पनि राम्रो रहेको प्रतिक्रिया पत्रकारहरुबाट आएको छ । प्रेश शोमा पुगेका नायक विनयले आफूहरुको मिहिनेत सफल भएको बताए । प्रशन्न गोपालीले यो चलचित्रको निर्माण गरेका हुन् ।