सुपरहिट सिरिज ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला पनि निर्माण हुने भएको छ । ‘नाइँ नभन्नू ल-५’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहँदा निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज पनि वर्ष २०७६ मा लिएर आउने घोषणा गरेका हुन् ।
निर्देशक आचार्य ‘छक्का पञ्जा-२’ मा जोडिएका कारण ‘नाइँ नभन्नू ल-५’ आउन दुई वर्ष लागेको थियो । अब, उनले छैटौं सिरिजको स्क्रिप्ट लेखनमा लाग्ने बताए । यसमा बालकलाकार अनुभव रेग्मी दोहोरिने कन्फर्म भएपनि अन्य कलाकारको टुंगो लागेको छैन ।
निर्देशक आचार्यले यो बाहेक अरु नाममा फिल्म बनाउन नसकेको आलोचना खेपिरहेका छन् । तर, उनी यो सिरिजलाई धेरै लम्ब्याउने सोचमा भने छैनन् । अब केही सिरिज बनाएपछि रिमेक बनाएर यो नामको फिल्म बन्द गर्ने तयारी उनको छ ।
फिल्मको रिमेकमा अनुभव हिरो हुनेछन् अर्थात् जीवन लुईटेलको भूमिका उनले निर्वाहा गर्नेछन् । यसका लागि भने अझै केही वर्ष कुर्नु पर्नेछ । निर्देशक आचार्य ‘नाइँ नभन्नू ल-६’ लगत्तै अन्य नामका दुई फिल्म पनि बनाउँदैछ ।
‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला रिलिजपछि घोषित दुई फिल्मको काम अगाडि बढाउने उनले बताए । उनले भने – ‘म हतारमा फिल्म लिएर आउँदिनँ । हरेक वर्ष एक मात्र फिल्म लिएर आउँछु’ ।
शुक्रवारबाट प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल-५’ ले अहिले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । तीन दिने विकेन्ड कलेक्सनमा २ करोड ग्रस कलेक्सन गरेको फिल्मको व्यापारमा तारन्तारको सार्वजनिक विदाले ठूलो सास भरेको छ ।
शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार दोब्बरले वृद्धि भएको थियो । आइतवार र सोमवार परेको विदामा पनि फिल्मको व्यापार आक्रामक रहेको वितरकको दाबी छ । मंगलवारबाट कस्तो छ ?
निर्देशक विकासराज आचार्य भन्छन्- ‘हाउसफुल छैन । तर, दर्शकको उपस्थिति राम्रो छ । वर्ड अफ माउथ बलियो भएका कारण दर्शकको संख्या विस्तारै बढ्दै गएको छ ।’ १ करोड ३५ लाखमा निर्माण भएको यो फिल्म दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्न सक्ने प्रवल सम्भावना छ ।