किराँत राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शिरफुल) को विशेष प्रदर्शन भाद्र ३० गते, किराँत राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा भव्य रुपमा सम्पन्न भएको छ । यो चलचित्रमा किराँतीहरूको परम्परागत मूल्य–मान्यतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । शीर्षक किराँती सभ्यता र भाषाबाट लिइए पनि यो चलचित्र नेपाली भाषामा छ ।
राई भाषामा सायाबुङको अर्थ अप्ठेरोमा फूल्ने फूल हुन्छ । हिमाली भेगमा गोठ राख्ने चलन छ, जुन बस्ती भन्दा धेरै टाढा हुन्छ । त्यही गोठ राखिने सुदूर ठाउँमा रहेको युवा र बस्तीकी युवतीबीचको प्रेमकथा यो चलचित्रको मुख्य विषय हो ।
चलचित्र हेरिसके पछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएको छ । विभिन्न क्षेत्रमा रहेका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । विनायो फिल्मका लेखन तथा निर्देशक जितेन राईज्यूले पनि फिल्म हेरिसके पछि आफ्नो प्रतिक्रिया राख्नु भएको थियो । उक्त चलचित्रले सुम्निमा हलमा धेरै दर्शकहरु तानेको थियो । र आगामी दिनहरुमा विभिन्न ठाउँमा यसको प्रदर्शनको तयारीहरु भएको चलचित्र निर्देशक भगिराज राईले बताउनु भयो ।