
लामो सयम बितिसक्दा पनि कंचनपुर हत्याकाण्डमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका परिवारले न्याय नपाएपछि अब न्याय दिलाउने काम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तको बलात्कार गरेर हत्या गर्ने हत्यारालार्इ पत्ता लगार्इ कार्वाही गर्ने समेत उदघोष गरेको छ । ४९ दिनको लामो प्रहरी हिरासतपछि रिहा भएका नेकपाका प्रवक्ता प्रकाण्डले मंगलबार बेलुकी पत्रकारहरूका सामु यस्तो उदघोष गरेका हुन् ।
घटना भएको तीन महिना पुग्न लाग्दा सम्म पनि राज्यले एउटा घटनाका दोषीलार्इ पत्ता लगाएर कार्वाही गर्न नसकेको भन्दै प्रकाण्डले आक्रोश व्यक्त गरेका छन् । प्रकाण्डले पत्रकारहरूसँग कुरा गर्दै भने- ‘नेपालको राज्य कतिसम्म निकम्मा र असफल छ भन्ने कुरा निर्मला पन्तको परिवारले अहिलेसम्म न्याय नपाउने अवस्थाले देखाइसक्यो ।’
ओली सरकारले दोषीहरूलार्इ संरक्षण गर्न लाग्दा अहिलेसम्म हत्यारा पत्ता नलागेको नेता प्रकाण्डको भनार्इ रहेको छ । अब, आफ्नो पार्टीले निर्मलाका परिवारलार्इ जसरी पनि न्याय दिलाइ छाड्ने संकल्प प्रकाण्डले गरेका छन् ।
प्रकाण्डले अगाडि भने- ‘हामी निर्मलाका हत्यारालार्इ पत्ता लगाएर कार्वाही गरिछाड्छौ र उनको परिवारलार्इ न्याय दिलाइछाड्ने छौ ।’
निर्मला हत्याबारे छानबिन प्रतिवेदन गोप्य राखियो-
निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा के छ, त्यो भने खुलाइएको छैन । प्रतिवेदन बुझाउने क्रममा सञ्चारकर्मीहरुलाई तस्वीर खिच्न समेत दिइएको थिएन ।
साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानविन समिति बनेको थियो ।

