adv

दलित भएकै कारण मलाई जागिरबाट निकालियो,मैले तताएको पानी समेत खाएनन् :बिन्दा विश्वकर्मा

दिक्तेल  ।।  रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै न्यायको माग गरेकी छन् ।
दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी विश्वकर्माले जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेकी हुन् ।

विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकाला गरेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ- ‘रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो, उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुपर्‍यो ।’

 

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए । उनले भने- ‘विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ,घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।’

लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट काम बाट निकालिएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाए लगत्तै उनको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ ।

आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उनले बताइन् । घटनाबारे बुझ्न प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेत दुबैसँग सम्पर्क हुन सकेको छैन ।

-साभार

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु