११ असोज ।। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सहमतिको आधारमा चाँडै प्रदेशको स्थायी राजधानी र नामाकरण तोकिने बताउनुभएको छ ।
स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको धनकुटामा उद्घाटन गर्न आएका मुख्यमन्त्री राईले पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेश सरकार नेकपाको दुई तिहाई बहुमतको भएपनि सबैको सहमतिमा मात्र प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिने उहाले बताउनुभयो ।
नेकपाको सरकार दुई तिहाईको दम्भमा अगाडि नबढ्ने स्पष्ट पार्दै मुख्यमन्त्री राईले सबैको सल्लाह, सुझाव र भावनालाई समेटेर प्रदेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने बताउनुभयो । मुलुक संघीय संरचनामा गएसँगै प्रदेश सरकारले शून्यबाट काम थाल्नु परेकाले केही–केही कामहरु गर्न ढिलाई भएको स्पष्ट पार्दै मुख्यमन्त्री राईले अब प्रदेश सरकारको काम तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो ।
अबको पन्ध्र दिन भित्रमा प्रदेश अन्तर्गतका सबै भौतिक संरचनाहरु स्थापना गरी प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयले प्राथमिकता पाउने बताउँदै मुख्यमन्त्री राईले चालु अधिवेशनबाट नै चाँडै टुंग्याउने पनि स्पष्ट पार्नुभयो । प्रदेशको नाम र स्थायी राजधानी कहाँ हुने भन्ने विषयमा व्यापक रुपमा छलफल भइरहेको भएपनि आफू प्रदेशको मुख्यमन्त्री भएको हिसाबले आफूलाई लागेको कुरा तत्कालै सार्वजनिक गर्न नमिल्ने राईले बताउनु भएको छ ।
प्रदेश सरकार संघीयताको मर्म र भावना अनुरुप अगाडि बढिरहेको बताउँदै मुख्यमन्त्री राईले राजधानी कहाँ हुन्छ भन्नु भन्दा पनि सिंहदरबारको अधिकार घर–घरमा आयो आएन भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
प्रदेश नं. १ अन्तरगत रहेका १४ जिल्लामा बसोबास गर्ने जनताको भावना र मर्म अनुसार प्रदेशको नामाकरण गरिने बताउँदै मुख्यमन्त्री राईले अहिले किराँत, कोशी, सगरमाथा, लिम्बूवान लगायतका नामहरु चर्चामा आएको र ती नामलाई मध्यनजर गर्दै छलफल अगाडी बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो-‘प्रदेशको नाम र स्थायी राजधानीको विषयमा विवाद गर्न हुदैन । यदि हामी त्यही विषयलाई लिएर विवाद गर्ने हो भने संघीयतामाथि खतरा हुन सक्दछ ।’