
११ असोज ।। महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले लेखापालमाथि हातपात गरेका छन् । बुधबार नगरपालिका कार्यालयमै मेयर साहले लेखापाल पवन अधिकारीलाई झापडले हिर्काएका हुन् ।
आफूमाथि कार्यालयमै हरहिसाबको विषयमा समान्य विवाद हुँदा मेयर साहले झापड हिर्काएको पीडित लेखापाल अधिकारीले दुखेसो पोख्नुभयो । उहाँले गुनासो गर्दै भन्नुभयो- ‘ममाथि मेयर साहले हातपात र दुर्व्यवहार गरेको कुरा महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी गराइएको छ । अब मेयर साहको कार्वाहीको लागि प्रशासनमा लिखित निवेदन दिएर अघि बढ्छु ।’
लेखापाल अधिकारीले मेयर साहले यसअघि पनि एक कर्मचारीलाई कुटपिट गरेको र उद्दण्ड शैलीको रहेको आरोप लगाए ।
यता, मेयर साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष २०७४।०७५ को हरहिसाब माग्दा उल्टै धम्काएपछि आफुले एक झापड हिर्काएको स्वीकार गरेका छन् ।
मेयर साहले भन्नुभयो- ‘पटक पटक हरहिसाब मागें । तर दिएनन् । गएकाे साउन ११ गते मैले निवेदन समेत दिएँ । तर कुनै वास्ता गरेनन् । आलटाल गर्दै आइरहेका छन् ।’ उनले अगाडि भने- ‘बुधबार यसै विषयमा कुरा गर्दा लेखापाल अधिकारीले तपाईंलाई जे गर्नुछ गर्नुस्, म हिसाब दिन्न भनेपछि मैले आवेशमा एक झापड हिर्काएँ ।’
मेयर साहले लेखापाल अधिकारीको काम ठीक नभएको र मेयर लगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाउनुभयो । आफूले यसअघि कुनै कर्मचारीमाथि हातपात नगरेको समेत मेयर शाहको दावी छ ।

