युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको चलचित्र ‘समर लभ’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ ।

विदेशका विभिन्न मनोरम लोकेशनमा खिचिएको गीतको भिडियोमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन् । चलचित्रमा आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । पुस्तक अतित र सायाको प्रेम र विछोडमा रुमलिएको थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतले अतित र सायाको प्रेमभाव बोल्छ ।
घोषणाकै बेलादेखि निर्माण टिम पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन सकेको छैन । केही दिन अगाडि चलचित्रको टिजर पनि सार्वजनिक भएको थियो । ‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकाल निर्देशित फिल्म भ्यालेनटाइन डेको छेको अर्थात माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् ।

चलचित्रको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।
फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रको सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ । ‘समर लभ’ पुस्तक सर्वाधिक रुचाइएका कारण यस चलचित्र माथि दर्शकको अपेक्षा बढी रहेको छ ।
गीत हेर्नुहोस्:

