माङसेबुङ, १६ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ को ऐतिहासिक प्रथम प्रादेशिक भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित माङसेबुङमा पौष १७ मंगलबार हुने भेलामा विभिन्न जिल्लाहरुबाट प्रतिनिधिहरु यतिबेला माङसेबुङ केन्द्रीत भइरहेको जनाएको छ । फोनिजको विधान २०७२ बमोजिम संगठनलाई प्रादेशिक ढाँचामा लाने प्रक्रिया प्रारम्भ भएसँगै सम्पूर्ण प्रदेशहरुको तदर्थ समिति निर्माण गरिरहेको छ । प्रदेश तदर्थ समिति गठनका लागि भेलालाई व्यवस्थित बनाउनका लागि प्रादेशिक भेला सञ्चालन सम्बन्धी कार्यविधि २०७५ जारी गरिएको छ । प्रदेश इञ्चार्जको संयोजकत्वमा सम्बन्धित प्रदेशका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहने गरी पहिलो पटकलाई संघीय समितिले प्रादेशिक समितिको घोषणा गर्नेछ । तदर्थ समिति गठन भएको तीन महिना भित्र विधान बमोजिम प्रदेश महाधिवेशन गरिसक्नु पर्ने जारी कार्यविधिमा उल्लेख छ । प्रदेश भेलाको निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन हुनासाथ प्रदेश तदर्थ समिति प्रदेश महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ ।

